तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पश्चिममा ९ जना उम्मेदवारको जमानत जफत

रुकुम पश्चिम। रुकुम पश्चिममा फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ९ जनाको जमानत जफत भएको छ । यस निर्वाचनमा १२ दलबाट उम्मेदवारहरू सहभागी थिए । जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । तर सदर मत ५९ हजार ५ सय २३ को १० प्रतिशत अर्थात् ५ हजार ९ सय ५२ मत नल्याउने ९ जना उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मानबहादुर शाही, नेकपा एमालेका नन्दराम देवकोटा, नेकपा माओवादीका चन्द्रबहादुर बुढा, राप्रपाका गोपाल खड्का, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, उज्यालो नेपाल पार्टीका नरेन्द्र केसी, नेकपा संयुक्तका शेरबहादुर केसी, आम जनता पार्टीका प्रेमा दमाई नेपाली र नेपाल मजदुर किसान पार्टीका धनबहादुर खड्का रहेको कार्यालयले जनाएको छ ।

यद्यपि एमालेका नन्दराम देवकोटा र उज्यालो नेपालका नरेन्द्र केसीले अर्को उम्मेदवारलाई समर्थन गरेर उम्मेदवारी निष्क्रिय पार्नुभएको थियो । जिल्लामा विजयी नेकपाका गोपाल शर्मा, निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका राजु केसी र प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले मात्र जमानत जोगाउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका शाहीले चार हजार ७६, नेकपा (एमाले)का देवकोटाले एक हजार ८६९, नेकपा (माओवादी) का बुढाले ३६६, राष्ट्रिय प्रजातन्त्र पार्टीका खड्काले २२८ मत ल्याउनु भयो । त्यसै गरी राष्ट्रिय जनमोर्चाका श्रेष्ठले १७०, उज्यालो नेपाल पार्टीका केसीले ८४, नेकपा (संयुक्त)का केसीले ५४, आम जनता पार्टीका नेपालीले ४५ र नेपाल मजदुर किसान पार्टीका बि.क.ले १५ मत ल्याउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button