तपाईँ सुन्दै हुनुहुन्छः

नुवाकोटका दुवै क्षेत्रमा रास्वपा उम्मेदवारको अग्रता

नुवाकोट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोटको दुई वटा निर्वाचन क्षेत्रमा नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राखेका छन् । निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार डा. विक्रम तिमिल्सिना र क्षेत्र नं २ मा डा.अचुतम लामिछानेले अग्रता लिइरहनुभएको छ ।

निर्वाचन क्षेत्र न. १ का सहायक निर्वाचन अधिकृत प्रमोद रिजालको अनुसार ककनी गाउँपालिका वडा नं १ र २ को दुई हजार ७५२ मत गणना हुँदा रास्वपाका तिमिल्सिनाले ७८० मत प्राप्त गर्दै अग्रता लिइरहनुभएको हो ।

दोस्रो स्थानमा रहनुभएका नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले ५८७ मत ल्याउनुभएको छ भने नेपाली काँग्रेसका उम्मेदवार डा.प्रकाशशरण महतको ५२३ मत रहेको छ ।

यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार हितबहादुर तामाङले ४१२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा आज मध्यान्ह १२ बजेदेखि ककनी गाउँपालिकाबाट मत गणना थालिएको हो ।

यस्तै, नुवाकोट–२ का मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यको अनुसार बेलकोटगढी नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ६, ९, १२ र १३ को गणना सम्पन्न हुँदा रास्वपाका लामिछानेले पाँच हजार ४३९ मत प्राप्त गर्नुभएको छ । सुरुवातदेखि नै उहाँले लिनुभएको अग्रता फराकिलो बनाउदै आइरहनुभएको छ ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जगदीश्वरनरसिंह केसीले २ हजार ९१९ मत र नेकपा (एमाले)का उम्मेदवार केशवराज पाण्डे २ हजार ५११ मत ल्याउनुभएको छ । यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार हिरानाथ खतिवडाले १ हजार ७६९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत आचार्यले जानकारी दिनुभयो ।

१३ वटा वडा रहेको बेलकोटगढी नगरपालिकाको बाँकी रहेका वडाको मतगणना अहिले भइरहेको छ । बेलकोटगढीमा विगतमा एमाले, काँग्रेस र नेपाली कम्युनिष्ट पाटीको प्रभाव रहेको थियो । रास्वपाले आफ्नो कमजोर प्रभाव रहेको बताउँदै आएको यस पालिकाबाट फराकिलो अन्तरले अग्रता राख्न सफल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button