तपाईँ सुन्दै हुनुहुन्छः

 कञ्चनपुरमा निर्वाचन तयारी पूरा, ३६० मतदान केन्द्र तयार, सीमा नाका तीन दिन बन्द 

कञ्चनपुर। कञ्चनपुर जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ।

जिल्लामा तीन ओटा निर्वाचन क्षेत्र रहेका छन् भने १३२ मतदान स्थलमा ३६० मतदान केन्द्र कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार ६६ मतदान स्थललाई अतिसंवेदनशील, ४० स्थललाई संवेदनशील र २६ स्थललाई सामान्य मतदान स्थलका रूपमा वर्गीकरण गरिएको छ । जिल्ला कारागार र भीमदत्त नगरपालिकामा अस्थायी मतदान केन्द्र समेत स्थापना गरिएको छ । सुरक्षा व्यवस्था यस पटक निकै कडा पारिएको छ । मतदान स्थलको पहिलो घेरामा निर्वाचन प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले फागुन १९ गतेदेखि २१ गते रातिसम्म नेपाल–भारत सीमा क्षेत्रको आवागमन पूर्ण रूपमा बन्द गरिएको जानकारी दिनुभयो ।

त्यस्तै फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुँदासम्म ड्रोन क्यामेरा सञ्चालनमा रोक लगाइएको छ । मदिराजन्य पदार्थको बिक्री वितरण फागुन १४ गतेदेखि नै बन्द गरिएको छ । साथै २० गते रातिदेखि मतदान कार्य सम्पन्न नहुँदासम्म अत्यावश्यक र अनुमति पाएका बाहेक अरू सबै सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ । जिल्लाभर करिब २ हजार २ सय कर्मचारी निर्वाचनमा परिचालन गरिएको छ । तीन वटै निर्वाचन क्षेत्रमा कर्मचारीलाई तालिम प्रदान गरी आवश्यक सामग्रीसहित सम्बन्धित मतदान केन्द्रमा खटाइसकिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिंह भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान केन्द्रहरूमा आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

यस पटक निर्वाचन आयोगले नयाँ मतदाता परिचयपत्र पठाएको छैन । पुरानो मतदाता परिचयपत्र भएकाले सोही कार्ड प्रयोग गर्न सक्नु हुनेछ । नहुनेहरूले नागरिकताको प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गाधनी पुर्जामध्ये कुनै एकको सक्कल प्रति देखाएर मतदाता नामावलीमा नाम भिँडेपछि मतदान गर्न पाउने निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत दामोदर घिमिरेले जानकारी दिनुभयो ।

निर्वाचन अन्तर्गत मतदान समय बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ । लोकतन्त्रको सुदृढीकरणका लागि मतदान सबैभन्दा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी दुवै हो । सम्पूर्ण मतदातालाई ढुक्क, निर्भीक र शान्तिपूर्ण वातावरणमा मतदान स्थलमा पुगेर आफ्नो अमूल्य मत प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button