शहिद परिवारद्वारा प्रचण्डलाई १ लाख ५ सय ५ रुपैयाँ सहयोग
रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शहीद परिवारले नै निर्वाचन खर्चका लागि आर्थिक सहयोग गरेका छन् । वडामा आयोजित चुनावी सभामा सिस्ने गाउँपालिका–८, धपेका शहीद परिवारले संयुक्त रूपमा १ लाख ५ सय ५ रुपैयाँ निर्वाचन परिचालनका लागि सहयोग गरेका हुन् ।
जनयुद्ध कालमा शहीद भएका हरिचन्द्र पुनका बुवा पदमबहादुर पुनले उक्त रकम प्रचण्डलाई हस्तान्तरण गर्नुभएको छ । सिस्ने–८ बाट जनयुद्ध कालमा राज्य पक्षबाट मारिएका २० जनालाई प्रचण्ड नेतृत्वको सरकारले शहीद घोषणा गरेको थियो । तीनै शहीद परिवारले निर्वाचन अभियानका लागि चुनावी खर्च भन्दै सहयोग जुटाएर प्रचण्डलाई प्रदान गरेको नेपाली कम्युनिस्ट पार्टीका केन्द्री सदस्य केशव रावलले जानकारी दिनुभएको छ ।
सहयोग रकम ग्रहण गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले शहीद परिवारको सहयोग साङ्केतिक भए पनि अत्यन्त शक्तिशाली र प्रेरणादायी रहेको प्रतिक्रिया दिनुभएको छ । सहयोग ग्रहण गर्दै प्रचण्डले भन्नुभयो, “जनताले दिएको सहयोग नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो । यो रकमलाई पहिलो प्राथमिकतामा राखेर पारदर्शी र जिम्मेवार ढंगले चुनावी अभियानमा प्रयोग गरिनेछ ।”
साथै उहाँले जनसहयोगलाई नै नेकपाको चुनावी अभियानको मूल आधार बनाइने बताउनुभएको छ । उहाँले यसपटक नेकपाले कम खर्चिलो, तडकभडकविहीन र जनशैलीमा आधारित चुनाव लड्ने बताउनुभएको छ । घरदैलो, टोल सभा, प्रत्यक्ष संवाद र अन्तरक्रियालाई प्राथमिकता दिइने र अनावश्यक खर्च पूर्ण रूपमा कटौती गरिने उहाँले भनाई छ । संयोजक प्रचण्डले रुकुम पूर्वबाटै नयाँ राजनीतिक संस्कारको सुरुआत गरिने उल्लेख गर्दै यहीँबाट समाजवादको व्यवहारिक अभ्यास सुरु गरिने पनि बताउनुभएको छ । “रुकुम पूर्व क्रान्ति र परिवर्तनको आधार भूमि हो । अब यही जिल्लाबाट समाजवादी अभ्यासको नमुना तयार गर्नेछौँ,” उहाँले भन्नुभएको छ ।
शहीद परिवारको विश्वास र साथले आफ्नो उम्मेदवारीलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै उहाँले जनताको भरोसालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त पनि भएको छ ।
उक्त रकम प्रचण्डले निर्वाचन परिचालन समितिका संयोजक तथा नेकपा केन्द्री कार्यालयका मुख्य सचिव गणेशमान पुनलाई हस्तान्तरण गरि सक्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्