तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरिँदै

डडेल्धुरा । खेतबारीमा हल गोरु हराउँदै गएपछि संस्कृति जोगाउनका लागी भन्दै डडेल्धुराका किसानलाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रम अघि सारिएको छ । परम्परागत खेती प्रणालीलाई जोगाइराख्ने उद्देश्य सहित जिल्लाका सातवटै स्थानीय तहमा हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरिने भएको हो ।

जिल्लाको परशुराम नगरपालिका,आलिताल गाउँपालिका ,भागेश्वर गाउँपालिका ,अजयमेरु गाउँपालिका,नवदुर्गा गाउँपालिका,गन्यापधुरा र अमरगढी नगरपालिकाका गरी दुई सय किसानलाई लक्षित गर्दै प्रतिकिसान पाँच हजार रुपियाँका दरले उपलब्ध गराइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख देवराज भट्टले जानकारी दिनुभयो । छनोट भएका प्रत्येकलाई पाँच हजारका दरले दिइने भनिएपनि दुई सयलाई वितरण गर्नुपर्नेमा झण्डै एक हजार भन्दा बढी आवेदनहरू परेको जनाएको छ । हल गोरु पालेको प्रमाणका रूपमा फोटो, वडाको सिफारिस तथा परम्परागत रूपमा खेती गर्दै आएको विवरण अनिवार्य गरिएको कार्यालय प्रमुख भट्टले बताउनुभयो ।

कम आय भएका, दुर्गम क्षेत्रका र हल गोरुबाटै जीविकोपार्जन गर्दै आएका किसानलाई प्राथमिकतामा राखिने भट्टले बताउनुभयो । यस कार्यक्रमका लागि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुदूरपश्चिमका सबै जिल्लामा बजेट विनियोजन गरेको बताएको छ । आवेदनहरू प्राप्त भइसकेको तर छनौट गर्न निकै सकस भइरहेको कार्यालय प्रमुख भट्टको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button