तपाईँ सुन्दै हुनुहुन्छः

कार्यकारी अध्यक्ष डा. विष्टद्वारा नायव कार्यकारी निर्देशक गौतमलाई बढुवाको पत्र प्रदान 

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको नायव कार्यकारी निर्देशकमा पुष्करराज गौतम बढुवा हुनुभएको छ । 

आज रेडियो नेपालमा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले नायव कार्यकारी निर्देशक पुष्करराज गौतमलाई बढुवाको पत्र प्रदान गर्नुभयो । त्यस अवसरमा कार्यकारी अध्यक्ष डा.विष्टले नायव कार्यकारी निर्देशक गौतमलाई आफूले एक कुशल प्रशासकको रूपमा पाएको भन्नुहुँदै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । 

यस्तै कार्यक्रममा सार्वजनिक प्रसारण नेपालका का.मु. प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले नायव कार्यकारी निर्देशक गौतम कार्य क्षेत्रमा अनवरत रूपमा लागिरहने भएकै कारण उच्च पदमा पुग्न सफल हुनुभएको उल्लेख गर्नुहुँदै उहाँको लगनशीलताको प्रशंसा गर्नुभयो ।  

यस्तै कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनका निमित्त नायव महाप्रबन्धक चिन्तामणि बराल र रेडियो नेपालका समाचार प्रमुख निर्देशक पवन प्याकुरेलले पनि गौतमको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । 

कार्यक्रममा बढुवा हुनुभएका नायव कार्यकारी निर्देशक पुष्करराज गौतमले संस्थाको समग्र हितका लागि आफूले विगत ३३ वर्षदेखि काम गर्दै आएको र बाँकी कार्य अवधिमा अथक रूपमा संस्थाको समग्र विकासमा लागिरहने प्रतिबद्धता जनाउनुभयो ।

शुभकामना तथा बधाई कार्यक्रममा रेडियो नेपाल र नेपाल टेलिभिजनका विभिन्न महाशाखा तथा शाखा प्रमुखहरूसँगै उच्च पदस्थ अधिकृतहरूको सहभागिता रहेको थियो । 

तस्बिर : मिलन ढुङ्गाना

प्रतिक्रिया राख्नुहोस्

Back to top button