उत्पादन क्षमता घटेसँगै पर्साका किसानहरु प्राङ्गारिक तथा गोबरमल तर्फ आकर्षित
वीरगञ्ज । पछिल्लो समयमा रासायनिक मलले बिस्तारै माटोको उत्पादन क्षमता घटाउँदै लगेको र यसको प्रयोगले मानव स्वास्थ्य र प्रकृतिमा पनि गम्भीर असर पुर्याउन थालेपछि पर्साका किसानहरु प्राङ्गारिक तथा गोबरमल तर्फ आकर्षित भएका छन् ।
अहिले पर्साको ठोरी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिकाका किसानहरुले रासायनिक मलको साटो प्राङ्गारिक मल तथा गोबरमलको प्रयोग गर्न थालेका छन् । रासायनिक मललाई विस्थापन गर्न आफूहरूले प्राङ्गारिक मल तथा गँड्यौलाबाट उत्पादन गरिएको मल प्रयोग गर्न थालेको वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ का युवा किसान रामाकान्त चौधरीले बताउनुभयो ।
उहाँले हाल आफूहरूले गड्यौला मल उत्पादन थालेको बताउँदै अहिले आलु, टमाटर, सागसब्जीलगायतमा यो मलको प्रयोग बढ्दै गएको जानकारी दिनुभयो । चौधरीले अरू बालीमा पनि प्राङ्गारिक मलको प्रयोग बढ्दै गएको र यसले बालिको उत्पादन क्षमता पनि बढाएको दाबी गर्नुभयो । प्राङ्गारिक मल तथा गड्यौला मलको प्रयोग गर्न थालेपछि उत्पादन भएको आलु र तरकारीको स्वादमा नै फरक परेको स्थानीय किसान भुवन पौडेलले बताउनुभयो ।

रासायनिक मलले स्वास्थ्यमा असर गर्ने जानकारी पाएपछि आफूले पनि चार वर्षयता निरन्तर प्राङ्गारिक मलको प्रयोग गर्दै आएको पौडेलको भनाइ छ । रासायनिक मल प्रयोग गर्दा उत्पादन धेरै भएको जस्तो लागेपनि यसले मानव जीवनमा गम्भीर असर पार्ने र रासायनिक मल प्रयोग गरी उत्पादन भएको सागसब्जी र आलुको स्वादमा समेत आकाश जमिनको फरक पर्ने गरेको अगुवा किसान चौधरीले बताउनुभयो । रासायनिक मलका लागि किसानहरु सहकारी संस्थाहरूमा घन्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको छ । नेपालमा नपाए जोखिम मोलेर भारतबाट खुला नाकाको प्रयोग गर्नुपर्ने बाध्यता समेत छ ।
प्राङ्गारिक मलको प्रयोग गर्ने प्रचलन बढेसँगै यी सबै समस्याको समाधान क्रमशः हुँदै आएको ठोरी गाउँपालिका वडा नम्बर २ की अगुवा महिला कृषक कौशिला कुँवरले बताउनुभयो । किसानहरूले अनुदानमा पाउने रासायनिक मल पाउन कठिन भएसँगै आफूहरूले गोबरमलको प्रयोग गर्न थालेको ठोरी सुवर्णपुरका किसान राम बहादुर खड्काले बताउनुभयो । कृषि सामग्री तथा साल्ट ट्रेडिङ कम्पनीद्वारा सहकारीमार्फत वितरण हुँदै आएको रासायनिक मल धान, मकै रोप्ने तथा गहुँ छर्ने बेलामा आवश्यकता अनुसार उपलब्ध नहुन थालेपछि किसानहरूले घरमै गोबर भण्डारण गरेर अथवा भण्डारण गरिएका गोबर खरिद गरेर खेतबारीमा प्रयोग गर्न थालेको ठोरी गाउँ पालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो ।
विशेष गरी गाईवस्तु पालेकाहरूले केही वर्षदेखि गोबर फाल्ने ठाउँमा खाल्डो खनेर भण्डारण गर्ने र आवश्यकता अनुसार प्राङ्गारिक तथा गोबरमल प्रयोग गर्न थालेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । रासायनिक मलको विकल्प नभई मानव स्वास्थ्यको लागि समेत प्राङ्गारिक, गोबर तथा गड्यौला मलको प्रयोग गर्न किसानहरूलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता रहेको बताउँदै यसकालागि सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान प्राङ्गारिक मल प्रयोग गर्ने किसानहरूलाई समेत दिनुपर्ने माग अध्यक्ष श्रेष्ठले गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्