तपाईँ सुन्दै हुनुहुन्छः

पिएसबी नेपालको पहिलो वार्षिकोत्सव : प्रादेशिक प्रसारण कार्यालय धनकुटामा पनि मनाइयो

धनकुटा । सार्वजनिक सेवा प्रसारण नेपाल (PSB Nepal) को पहिलो वार्षिकोत्सवको अवसरमा सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, प्रादेशिक प्रसारण कार्यालय धनकुटाले आज शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ।

रेडियो नेपाल धनकुटाको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा जिल्लास्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मीहरू र विभिन्न संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा जिल्ला अस्पताल धनकुटाका प्रमुख डा. सन्तोष राई, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, प्रेस स्वतन्त्रता सेनानी सञ्जय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, निवर्तमान अध्यक्ष नगेन्द्र राई, र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाका अध्यक्ष मानवी मोक्तान लगायत वक्ताहरूले पहिलो वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो।

शुभकामना मन्तव्य राख्दै वक्ताहरूले सार्वजनिक सेवा प्रसारणले नागरिकका आवाज र दूरदराजका जनताको समस्या उजागर गर्नुपर्ने आवश्यकता औंल्याउँदै, पिएसबी नेपालको मर्म र उद्देश्यलाई व्यवहारमा उतार्दै प्रसारण सेवालाई अझ प्रभावकारी र समयानुकूल बनाउनुपर्नेमा जोड दिनुभयो। साथै, सार्वजनिक सेवा प्रसारणले सरकारसँग पनि प्रश्न गर्न सक्ने स्वायत्तता कायम रहनुपर्ने विचार वक्ताहरूले व्यक्त गर्नुभयो।

कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्र धनकुटाकी समाचार अधिकृत सुखकला राईले सार्वजनिक सेवा प्रसारणको औचित्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता प्रादेशिक प्रसारण कार्यालय धनकुटाका प्रमुख तिल विक्रम चेम्जोङले गर्नुभएको थियो। उहाँले सार्वजनिक सेवा प्रसारणको इतिहास, उद्देश्य र नेपालमा यसको विकासक्रमका विषयमा संक्षेपमा जानकारी दिँदै कार्यक्रमको समापन गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button