तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध बिपी राजमार्ग खुलाउने कार्य प्रारम्भ, चौकी डाँडाबाट डाइभर्सन निर्माण सुरु

काभ्रेपलाञ्चोक ।  निरन्तर वर्षाका कारण बाढी र पहिरोले अवरुद्ध भएको बिपी राजमार्ग खुलाउने कार्य सुरु गरिएको छ। 

रोशी खोलाले कटान गरेका सडकहरूमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरी राजमार्ग खुलाउने कार्य प्रारम्भ गरिएको र यसका लागि चौकी डाँडाबाट वैकल्पिक डाइभर्सन मार्ग निर्माण गर्न सुरु गरिएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।

बिपी राजमार्ग तत्काल सञ्चालनको लागि पहल र समन्वय गर्न चौकी डाँडामा आज नमोबुद्ध नगरपालिका, राेशी गाउँपालिका र महाभारत गाउँपालिकाको संयुक्त बैठक  समेत बसेको थियो । तीन पालिकाको संयुक्त बैठकले बिपी राजमार्ग तत्काल सञ्चालनको लागि पहल र समन्वय गर्ने, थानसिङबेशी पुल निर्माणका लागि अस्थायी र दीर्घकालीन व्यवस्थापनका लागि कार्य गर्नेलगायतका निर्णय गरेको थियो ।

बिपी राजमार्ग अवरुद्ध भएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । डाइभर्सन निर्माणले आपतकालीन आवतजावत सहज बनाउने अपेक्षा गरिएको छ। सुरक्षाकर्मी, सडक विभाग र स्थानीयवासीको सहकार्यमा दुवै कार्य तीव्र रूपमा अघि बढाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button