रुकुम पूर्व मध्यपहाडी खण्डमा सुख्खा पहिरो, यातायात सेवा ठप्प

रुकुम पूर्व । रुकुम पूर्वको भूमे गाउँपालिका–३ मा सुख्खा पहिरो गएपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । मंगलबार बिहान ७ बजेतिर भूमे गाउँपालिका–३ स्थित काँडा बगरमा अचानक सुख्खा पहिरो खसेको हो ।
पहिरोका कारण यातायात पूर्णरुपमा ठप्प भएको छ । सवारीसाधन रोकिनुका साथै यात्रुहरू पनि रोकिएका छन् । समाजसेवी तथा युवा नेता चन्द्र रसाइलीका अनुसार पहिरोका कारण सडक पूर्णरुपमा बन्द भएको छ ।
रसाइलीले भन्नुभयो, “म अहिले पहिरो गएकै स्थानमा छु । भूमे गाउँपालिकाले सडक खुलाउन प्रयास गरिरहेको छ तर माथिबाट निरन्तर पहिरो खसिरहेका कारण तत्काल यातायात सञ्चालन हुने अवस्था छैन ।”
यस क्षेत्रलाई उच्च जोखिम मानिँदै आएको छ । बेला–बेला सुख्खा पहिरो झर्ने भएकाले मध्यपहाडी लोकमार्ग बारम्बार अवरुद्ध हुने गरेको रसाइलीको भनाइ छ । काँडा बगर आसपासको सडक खण्डमा यसवर्ष यात्रुका लागि असुरक्षित बनेको छ ।
यस अघि पनि पटकपटक स्थानीय प्रशासन, सुरक्षा निकाय र गाउँपालिकाले सडक सञ्चालनमा ल्याएका थिए ।
प्रतिक्रिया राख्नुहोस्