रुपन्देहीमा चैते धान उत्पादनमा वृद्धि
रुपन्देही । रुपन्देहीमा चैते धानको उत्पादनमा वृद्धि भएको छ । रुपन्देहीका विभिन्न पालिकाहरूमा लगाइएको चैते धानको उत्पादनमा उल्लेख्य रूपमा वृद्धि भएको किसानहरूको भनाई छ ।

रुपन्देहीमा यस वर्ष लगाइएको चैते धान भित्राइएको छ । सिँचाइको सुविधा भएको क्षेत्रमा लगाइएको चैते धानको उत्पादनमा उल्लेख्य मात्रामा वृद्धि भएको किसानहरूले जनाएका छन् ।जिल्लाको सियारी गाउँपालिका र सैनामैनामा लगाइएको चैते धानको उत्पादनमा वृद्धि भएको किसानहरूले बताउनुभयो। रुपन्देहीमा ३० हेक्टर बढीमा चैते धानको खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रुपन्देहीले जनाएको छ ।
पछिल्लो समय चैते धानप्रति किसानहरूको आकर्षण समेत बढेको परियोजना कार्यान्वयन इकाईका प्रमुख नारायण काफ्लेले जानकारी दिनुभयो । विगत केही वर्ष अगाडि सम्म उत्पादनबारे जानकारी लिने गरी खेती सुरु गरेका किसानहरूले गत वर्षदेखि व्यावसायिक रूपमा खेती गर्न थालेको उहाँको भनाई छ ।
उहाँले चैते धान प्रति हेक्टर ६ देखि ७ टन फल्ने गरेको बताउनु भयो । उहाँका अनुसार बर्खे धान राम्रो फल्दा पनि प्रति हेक्टर ४ टन सम्म फल्ने गर्दछ । भारतबाट बर्सेनि बढ्दो मात्रामा आयत हुने चामललाई कम गर्नका लागि चैते धान खेतीलाई व्यापक रूपमा बिस्तार गर्नु पर्ने उहाँको भनाई छ । पछिल्लो केही वर्ष यता सङ्घीय सरकार अन्तरगतका कार्यालयले चैते धानलाई सघन खेतीको रूपमा विकास गरेको बताउँदै उहाँले यस आर्थिक वर्षदेखि प्रदेश सरकार र स्थानीय सरकारलाई पनि चैते धान खेती तर्फ किसानलाई आकर्षित गर्ने गरी काम गर्न आग्रह गरेको छ ।
सैनामैना नगरपालिका बैकुण्ठपुरा किसान हिमलाल न्यौपानेले ८ कट्ठामा चैते धानको खेती गरेको बताउनु भयो । उहाँले सिँचाइको राम्रो व्यवस्था भएका ठाउँमा बर्खे धानभन्दा चैते धानको उत्पादन बढी रहेको बताउनुभयो । उहाँले सरकारले प्रयाप्त मात्रामा सिचाइको व्यवस्थापन गर्न सके किसानहरू थप आकर्षित हुने बताउनुभयो ।
सैनामैनामा २२ जनाको समूहले चैते धानको खेती गरेका छन् । २२ जनाको समूहले १० बिगाहामा चैते धान खेती गरिएको र उत्पादनमा पनि वृद्धि आएको किसानहरूको भनाई छ । अहिले १० बिगाहामा खेती गरेका किसानहरूले अर्को वर्ष सिँचाइको व्यवस्था हुन सके यसलाई ४० देखि ५० बिगाहामा खेती गर्ने सोच बनाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्