तपाईँ सुन्दै हुनुहुन्छः

राजस्व चुहावट गरेका व्यवसायीलाई  ७ करोड बिगो दाबी सहित उच्च अदालतमा मुद्दा दायर 

रुपन्देही । राजस्व चुहावट गरेका एक व्यवसायीलाई राजस्व अनुसन्धान विभागले ७ करोड बिगो माग दाबी सहित उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा मुद्दा दायर गरेको छ । 

राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवल मार्फत राजस्व चुहावट सम्बन्धी ‍कसूरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी नवज्योति ट्रेडर्स (स्था.ले.नं 616180305) का प्रोप्राइटर सौरभ यादव समेत ४ जना विरुद्ध श्री उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 (संशोधन सहित) को दफा 20(६) बमोजिम मुद्दा दायर गरेको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजस्व अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिनुभयो ।

जिल्ला नवलपरासी (ब.सु.प.), रामग्राम नगरपालिका, वडा नं-08 स्थित बिक्रेता नवज्योति ट्रेडर्स (स्था.ले.नं 616180305) का प्रोप्राइटर सौरभ यादव र क्रेता आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्स (स्थायी ले.नं. ६१४३२२०६२) का सञ्चालक पुष्पा शर्माले सञ्चालन गरेको व्यवसायको कारोबार विश्लेषण गर्दा उक्त बिक्रेताले रु.५० लाख भन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको देखिएता पनि करदाता मू.अ.करमा दर्ता नभएको पाइएको अनुसन्धान अधिकृत घिमिरेले बताउनुभयो ।  

 पटक पटक चामलको बिल बनाई अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको भारतीय चिनीको कारोबार गरेको देखिएकाले निज करदाताले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२(सं.स) को दफा ३ विपरीत र दफा ४ को उपदफा (क), (ख), (च) र (झ) बमोजिम कसुर गरेकोले निज प्रतिवादी सौरभ यादवको हकमा मु.अ. कर र भन्सार चोरी पैठारी तर्फको जम्मा बिगो रु. ३,४७,६२,७५३।२३ पैसा कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(१) अनुसार निज प्रतिवादीबाट बिगो असुल उपर गरी शत प्रतिशत रकम जरिबाना हुन तथा सोही ऐनको दफा २३(१)(ख) बमोजिम हदैसम्मको कैद सजाय हुन गएको छ । 

 त्यसै गरि प्रतिवादी क्रेता पुष्पा शर्मालाई भन्सार चोरी पैठारी तर्फको रू.११,७१,५०० (अक्षरेपि एघार लाख एकहत्तर हजार पाँच सय) बिगो कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित कार्य गरी दफा ४ को खण्ड (क), (ख), (च), (छ) र (झ) समेतको कसूरमा ऐ ऐनको दफा २३(१) बमोजिम बिगो जफत गरी शत प्रतिशत रकम जरिबाना हुन तथा सोही ऐनको दफा २३(१)(क) बमोजिम हदै सम्मको कैद सजाय हुन र प्रतिवादी हिक्मत प्रसाद आचार्यको हकमा निजले क्रेता पुष्पा शर्मालाई प्रत्यक्ष सघाएको देखिएकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(३) को कसूरमा सोही दफा २३(३) बमोजिम आधा सजाय मागवादी गरिएको छ ।

 प्रतिवादी विनोद थापाको हकमा उक्त राजस्व चुहावटको कसूरमा संलग्नता रहेको पुष्टि भएकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३३(३) को कसूरमा सोही दफा ३३(३) बमोजिम नै जरिवाना हुन मागवादी लिई सम्मानित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button