तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच संक्रमणकालीन न्यायको कामकारबाहीबारे समीक्षा

काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू बीच आज संक्रमणकालीन न्यायको सम्बन्धमा भइरहेका कामकारबाहीबारे समीक्षा भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको बैठकमा संक्रमणकालीन न्याय निरूपणका लागि गठित आयोगहरूले कामकाज सुरु गरी सकेकाले त्यसबाट सकारात्मक परिणाम निस्कनेमा सबै आशावादी रहेको बैठकपछि नेकपा एमालेका नेता एवं पूर्व मन्त्री अग्नी खरेलले बताउनुभयो । 

बैठकमा शीर्ष नेताहरू बीच संक्रमणकालीन न्याय निरूपणका लागि गठन भएको आयोगले अगाडि बढाएको काम र हालैको बजेटमा यसलाई सम्बोधन गरिएको विषयमा छलफल भएको नेता खरेलले जानकारी दिनुभयो । 

संक्रमणकालीन न्यायलाई यथाशक्य छिटो निष्कर्षमा पुर्याउन सरकार, राजनीतिक दल र नेताहरू सबै सचेत रहेको पनि नेता खरेलले बताउनुभयो । 

सरकारले आगामी आर्थिक वर्षको बजेटमा संक्रमणकालीन न्याय सम्बन्धी कामहरूका लागि सक्रमणकालीन न्याय सम्बन्धी कोषमा १ अर्ब बजेट विनियोजन गरेको छ । 

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन दलका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button