तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा लिच्छविकालीन दुई मन्दिरका अवशेष भेटिए 

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाको वडा नंं ६ गोवीन्दपुरमा पुरातात्त्विक महत्वको लिच्छवीकालीन मठेश्वर महादेव मन्दिरको अवशेष फेला परेको छ ।

पुरातत्त्व विभागद्वारा गरिएको उत्खननमा करिब नवौँ शताब्दीको अन्त्यतिर निर्माण भएको अनुमान गरिएको उक्त मन्दिरको भग्नावशेष पत्ता लागेसँगै यस क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने सम्भावनाको ढोका खुलेको स्थानीयवासीले बताउनु भएको हो । 

आर्थिक वर्ष २०८०/८१ मा सबैला नगरपालिकाले आफ्नै पहलमा बजेट विनियोजन गरी पुरातात्त्विक अध्ययन र उत्खननका लागि प्रस्ताव गरेकोमा  पुरातत्त्व विभागले प्रारम्भिक उत्खनन गर्दा एउटा मन्दिरको संरचना भेटिएको छ । उत्खननलाई चालु आर्थिक वर्ष २०८१/८२ मा दोस्रो पटक निरन्तरता दिएपछि अर्को मन्दिरको अवशेष फेला परेको हो ।

पुरातत्त्व विभागका प्रमुख अधिकृत प्रकाश दर्नालले शिखर शैलीमा मन्दिरको निर्माण भएको पाइएको बताउनु भयो । यो लिच्छवीकालीन वास्तुकलाको नमूना हो । ढुङ्गामा कुँदिएका मूर्तिहरू, गजुरका टुक्रा, चिलम, इँटा र अन्य धार्मिक सामग्रीहरूले उक्त मन्दिर नवौँ शताब्दीको अन्त्यतिरको हुन सक्ने जानकारी दिनुभयो । 

मन्दिरमा प्रयोग गरिएका शिल्पकला र आकृतिहरूले बुद्धकालीन शिल्पशैलीसँग सामीप्ययता राख्छन् दर्नालले भन्नु भयो । यो ऐतिहासिक दृष्टिले झनै महत्वपूर्ण ठहरिन्छ । इन्जिनियर सुरेन्द्र पजियारले अहिलेसम्म २५ वटा मूर्तियुक्त ढुङ्गा, विभिन्न धार्मिक सामग्री र दुईवटा छुट्टाछुट्टै मन्दिरका भग्नावशेष फेला परेको जानकारी दिनुभयो । 

पहिलो मन्दिरको संरचना अनुमानित ५०–६० फिट उचाइको रहेको अनुमान गरिएको छ भने दोस्रो मन्दिर १५–२० फिटको हुन सक्ने अनुमान पुरातत्त्व विभागले गरेको छ । आगामी मङ्सिर महिनाबाट थप विस्तारित उत्खनन कार्य थालिने पनि विभागले जनाएको छ ।

सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवले मठेश्वर महादेव मन्दिरको उत्खननले सम्पूर्ण मधेश प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो । अर्को आर्थिक वर्ष देखि यसको डिपिआर तयार गरेर मन्दिरको पुर्ननिर्माण गरिने बताउनु भयो । 

अहिले उत्खनन कार्य जारी रहेकाले भविष्यमा अझै महत्वपूर्ण ऐतिहासिक दस्ताबेज र अवशेष पत्ता लाग्ने विश्वास गरिएको छ । स्थानीय सरकार र पुरातत्त्व विभागको सहकार्यमा संरक्षण गरिने यस ऐतिहासिक स्थलले केवल सबैला मै नभई सम्पूर्ण प्रदेशकै सामाजिक, सांस्कृतिक र आर्थिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास स्थानीयवासीको रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button