पशुपालनबाट राम्रो आम्दानी गर्दै गुल्मीका महिला

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घा एकसिङ्का जनजाति महिलाहरू कुनै समय मदिरा बिक्री वितरण गरेर आफ्नो जिविको चलाउने गर्दथे तर पछि स्थानीय सरकारको प्रेरणा र सहयोगले पेसा नै परिवर्तन गरि उनीहरू आजभोलि पशुपालन गरि राम्रो आम्दानी गर्न थालेका छन् ।
सत्यवती गाउँपालिका–४ लिम्घाकी राधिका गाहाले ५ वर्ष अघिसम्म मदिरा बेचेर आफ्नो दैनिकी चलाउनुहुन्थ्यो । मदिरा स्वास्थ्य, परिवार र समाजको लागि हानिकारक छ भन्ने ज्ञान भए पनि वैकल्पिक पेसा नहुँदा उहाँ मदिराबाटै गुजारा चलाउन बाध्य हुनुहुन्थ्यो । तर स्थानीय सरकारले अनुदानमा गाई, आवश्यक तालिम र यन्त्र उपकरण सहयोग गरि गाई पाल्न प्रेरित गरेपछि उहाँले विगत ३ वर्षदेखि दुई वटा गाई पालिरहनुभएको छ । गाई पालनबाट उहाँले अहिले मासिक ४० हजार बराबरको आम्दानी गर्दै आउनुभएको छ ।

उहाँ जस्तै एकसिङका ४५ जना महिलाहरूले अहिले गाई र भैँसी पालेका छन् । नजिकैको पिपलडाडा दूध डेरीमा बिहान साँझ दूध सङ्कलन गर्नेको घुइँचो नै लाग्ने गर्दछ । मासिक ४५० लिटर दूध संकनलबाट करिब ७ लाख आम्दानी हुने गर्दछ । बैङ्किङ प्रणालीबाट मासिक रुपमा रकम भुक्तानी पाउने व्यवस्था मिलाइएको छ । मदिरा छोडेर पशुपालनमा लाग्दा आफूहरूको जीवनशैली फेरिएको सत्यवती गाउँपालिका–४ की मिनु थापाले बताउनुहुन्छ ।

स्थानीय सरकारको अथक प्रयासपछि लिम्घाका महिला आफ्नो मात्रै नभइ सिङ्गो सत्यवतीको जीवनशैली र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेका छन् । गाउँपालिकाले उनीहरुलाई प्राविधिक सहयोग गरेको गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताउनुहुन्छ ।
सत्यवती गाउँपालिकाको यो प्रयास र स्थानीय महिलाहरूले गरेको पौरख सबैको लागि प्रेरणादायी र अनुकरणीय बन्न सक्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्