तपाईँ सुन्दै हुनुहुन्छः

औलोको जोखिममा कञ्चनपुर

दोधारा चाँदनी (कञ्चनपुर)। भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिमा छ । छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कञ्चनपुरमा औलो न्यूनीकरणमा चुनौती थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले स्थानीय सङ्क्रमणभन्दा आयातित औलो सङ्क्रमित बिरामी बढिरहेको बताउनुभयो । “यो जिल्लामा यहाँको लामखुट्टेको टोकाइबाट भन्दा पनि भारतमा सङ्क्रमित भएर आउनेको सङ्ख्या बढी छ”, उहाँले भन्नुभयो, “पछिल्ला केही वर्षयता कञ्चनपुरमा औलोको सङ्क्रमण कम भए पनि जोखिम कायमै छ ।” उहाँले औलो शून्यमा झार्ने रणनीतिअनुसार स्वास्थ्य कार्यालयले काम गरिरहेको भए पनि यसको न्यूनीकरण गर्न कठिनाइ रहेको बताउनुभयो ।

“नेपालबाट भारत रोजगारीमा जानेहरू औलो सङ्क्रमित भएर यहाँ आउने गरेका छन्”, औलो निरीक्षक भट्टले भन्नुभयो, “भारतबाट आउने र शान्ति सेनामा गएर फर्किएकाहरूमा औलो देखिने गरेको छ ।” उहाँका अनुसार पश्चिमीनाका गड्डाचौकीमा रहेको हेल्थडेस्कमा औलो परीक्षण हुने गरेको छ । त्यसैगरी सबै ज्वरो आएका बिरामीको समेत सबै स्वास्थ्य संस्थामा औलो परीक्षण गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८/७९ मा २९ हजार ४९२ जनाको परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण देखिएको थियो । जसमा पाँच जनामा स्थानीय र ३० जनामा आयातित औलोको सङ्क्रमण देखिएको औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३० हजार ३६२ जनामा औलो परीक्षण गरिएको थियो । जसमा २८ जनामा औलो सङ्क्रमण देखिएकामा २३ जनामा आयातित औलो देखिएको थियो ।

त्यसैगरी आव २०८०/८१ मा १६ हजार ४६३ जनामा औलो परीक्षण गरिएको थियो । जसमा भारतबाट फर्किएका २५ जनामा सङ्क्रमण देखिएको थियो । आव २०८१/८२ को चैत्रसम्म ११ हजार २८९ जनामा परीक्षण गरिएकामा ३५ जनामा औलो सङ्क्रमण देखिएको छ । जसमा ३२ जनामा आयातित र तीन जनामा स्थानीय औलोको सङ्क्रमण देखिएको थियो । स्वास्थ्य कार्यालयका अनुसार रोजगारीका लागि भारत जानेहरू न्यून स्तरको काम गर्ने र त्यहाँ औलो सङ्क्रमण भएपछि उपचार नगरी नेपाल आउने गरेका कारण आयातित औलोको सङ्क्रमण बढ्दै गएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button