सुविधा खोज्दै गाउँबाट शहर, रित्तिँदै गाउँघर

काठमाडाैँ । कोशी प्रदेशको झापा घर भएकी दीक्षा खाती स्नातकोत्तरको पढाई सँगै विभिन्न संस्थाहरूमा आवद्ध भई काम गर्दै आइरहनुभएको छ । २५ वर्ष पुग्नुभएकी खातीले गुणस्तरीय शिक्षा र अन्य अवसरहरू देखेर पनि काठमाडौँ आएको बताउनुहुन्छ ।
दीक्षा भन्नुहुन्छ , “आफूलाई ग्रुम गर्न र अझ राम्रा अवसरहरूलाई लिनका लागि स्थानीय स्तर भन्दा काठमाडौँ अझ उपयुक्त विकल्प लाग्यो त्यसैले यहाँ सिफ्ट भए, यहाँ मैले कक्षामा पनि साथीहरू केही न केही विषयमा दखल राख्ने क्षमतावान् हुनुहुन्छ मलाई लाग्छ यस्तै वातावरणमा आफूलाई पनि अझ बढी सिक्न र अवशहरू प्राप्त गर्न सक्छु।”
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर गरिरहेकी दीक्षा खाती जस्तै नेपालमा राम्रो सेवा, सुविधा र अवसरहरू खोज्दै गाउँबाट शहर र हिमाल तथा पहाडबाट तराई तर्फ बसाइसर्नेको लहर झनै बढ्दै गएको तथ्याङ्कले देखिएको छ । नेपालमा जन्मथलो छोडी अर्को स्थानमा बसाइँसरी जाने दर २९ प्रतिशतभन्दा बढी रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
राष्ट्रिय जनजागरणमा आधारित रही राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको आन्तरिक बसाइसराइ प्रतिवेदनले नेपालमा २९.२ प्रतिशत जनसङ्ख्या आन्तरिक बसाइसरेको र सबैभन्दा बढी ३२ प्रतिशत बसाइँसराइ पहाडमा देखिएको औँल्याएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको आन्तरिक बसाइसराइ प्रतिवेदनले नेपालमा २९.२ प्रतिशत आन्तरिक बसाइसराइ रहेको र सबैभन्दा बढी ३२ प्रतिशत आन्तरिक बसाइँसराइ जनसङ्ख्या पहाडमा देखिएको प्रतिवेदनले औँल्याएको छ । यस्तै, तराईबाट २८.९ प्रतिशत र हिमाली क्षेत्रबाट १३.८ प्रतिशत मानिस बसाइँसराइ गरेको देखिएको छ । आन्तरिक बसाइँसराइ गर्ने अत्यधिक ३७.६ प्रतिशत महिला छन् र पुरुषको दर २०.६ प्रतिशत रहको प्रतिवेदनमा उल्लेख छ, ‘अन्यत्रबाट तराईमा बसाइ सर्ने जनसङ्ख्या २०२८ मा ४ लाख १० हजार ६४ थियो । २०७८ मा यो सङ्ख्या बढेर २० लाख ८४ हजार ५ सय ५ जना पुगेको छ ।
यस्तै, हिमाली क्षेत्रमा बसाइँ सरी जाने सङ्ख्या २०२८ मा ९ हजार ६ सय ९८ (२.२५) रहेकोमा ०७८ मा ७५ हजार ५ सय ४२ देखिएको छ । तर, त्यो क्षेत्रबाट अन्यत्र सरी जाने सङ्ख्या अत्यधिक रहेकाले खुद बसाइँसराइ ५ लाख ४३ हजार ९ सय ६६ ले ऋणात्मक रहेको प्रतिवेदनले औँल्याएको छ ।हिमाली क्षेत्रमा बसाइँ सरी आउनेभन्दा त्यस क्षेत्रबाट अन्यत्र सरेर जाने अधिक रहेको छ भने पहाडी क्षेत्रको काठमाडौँ, पोखरा र चितवन जस्ता ठूला शहरमा सरी जानेका सख्या बढीको छ ।
यसरी करिब ३० वर्ष अघि गोरखा जिल्लाबाट विवेक श्रेष्ठको परिवार काठमाडौँमा बसाई सरी आउनुभएको थियो । अवसरहरूको खोजीमा काठमाडौँ आएको भएपनि हाल काठमाडौँमै स्थायी रुपमा बसिरहेको श्रेष्ठ बताउनुहुन्छ । “ त्यति वेला द्धन्द्धकाल थियो राम्रो अवसरहरूको खोजीमा काठमाडौँ स –परिवार आयौ, बिस्तारै शिक्षादीक्षा साथी सङ्गत सँगै पेशागत रुपमा पनि यतै भिजियो।” विवेक भन्नुहुन्छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बालबालिका तथा बयोवृद्धहरु परिवारमा आश्रित भई , विवाह, शिक्षा, विभिन्न अवसरको खोजी र पेशा व्यापार व्यवसाय लगायतका कारणले आन्तरिक बसाइसराइ भइरहेका छन् ।
बसाइसराइको ट्रेन्ड हेर्दा हिमाली क्षेत्रमा बसाइँ सरी आउनेभन्दा त्यस क्षेत्रबाट अन्यत्र सरेर जाने अधिक रहेको छ भने पहाडी क्षेत्रको काठमाडौँ, पोखरा र चितवन जस्ता ठूला शहरमा सरी जानेका सख्या बढीको छ । बसाइसराइ भक्तपुर,ललितपुर, काठमाडौँ, पोखरा, विराटनगर जस्ता ठुला शहर आकर्षणको केन्द्र बन्दै गएको देखिन्छ ।
यसअघिका गणनाहरूमा पहाड र हिमाल क्षेत्रबाट तराई तर्फ अर्थात् भर्टिकल (ठाडो) बसाई सर्ने दर बढी थियो भने हाल शहर केन्द्रित भई गाउँ देखि शहर, साना सहरदेखि ठूला शहरहरुमा बसाई सर्ने लहर बढेको पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालय, जनसङ्ख्या शाखाका निर्देशक राजन सिलवालले जानकारी गराउनुभयो । सिलवाल भन्नुहुन्छ “ भक्तपुर,काठमाडौँ, ललितपुर त मुख्य आकर्षणको केन्द्र जस्तै बनेको छ, जनसङ्ख्या वृद्धिदर पनि यिनै जिल्लामा बढी छ भने प्रदेशका मुख्य सहरहरू जस्तै पोखरा, चितवन, विराटनगर जस्ता शहरमा पनि जनसङ्ख्या वृद्धि भइरहेको छ।”
बसाइसराइको प्रवृत्ति यही स्वरूपमा भइरहे भविष्यमा भूगोल अनुसार जनसङ्ख्याको सन्तुलन थप बिग्रँदै जाने र अव्यवस्थित बसोबासले सहरको विकास र व्यवस्थापनमा जटिलताका साथै मुलुकको सन्तुलित र योजनाबद्ध विकासमा समेत असर पुग्ने निर्देशक सिलवालले बताउनुभयो । उहाँले बसाइसराइको सन्तुलन थप बिग्रन नदिन,सबै क्षेत्रको समान विकास र सहज सेवा विस्तारका लागि राज्यको समयमै ध्यानाकर्षण हुनु जरुरी रहेको पनि औँल्याउनुभयो ।
प्रदेश अनुसारको आन्तरिक बसाइसराइको आयतनलाई अध्ययन गर्दा २०७८ मा कुल २१ लाख ४२ हजार ३ सय ६३ जनाले एक प्रदेशबाट अर्को प्रदेशमा बसाइँसराइ सर्दा महिला ११ लाख ५४ हजार नौ सय नौ र पुरुष ९ लाख ८७ हजार ४ सय ५४ रहेका छन् ।
सो अवधिमा बागमती प्रदेशमा बसाइँसराइ गरी आउने ११ लाख ५० हजार ६ सय २६ छ । गण्डकीमा खुद ३ लाख ४३ हजार ५० जना बराबर ऋणात्मक र कोशी प्रदेशमा पनि ३ लाख १८ हजार ७ सय ९६ जनाले गर्दा खुद बसाइँसराइ ऋणात्मक भएको प्रतिवेदनमा उल्लेख छ ।
बागमती प्रदेशमा बसाइँसराइ गर्नेको सङ्ख्या थपिएको तर गण्डकी र कोशी प्रदेशमा खुद बसाइसराइ गर्नेको सङ्ख्या ऋणात्मक देखिएको छ । कुल बसाइँसराइ गर्ने व्यक्तिहरूको प्रथम छनौट बागमती प्रदेश नै देखिएको छ जहाँ ५७.३ प्रतिशत पुरुष र ५०.६ प्रतिशत महिला अन्यत्रबाट सरेर आएका देखिन्छन् ।
एक प्रदेशबाट अर्को प्रदेशमा बसाइँ सर्नेमध्ये सबैभन्दा बढी गण्डकीमा देखिन्छन् जहाँबाट पुरुष २३.५ प्रतिशत र महिला २५.७ प्रतिशत गएका देखिन्छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘कोशी प्रदेशबाट १७.६ प्रतिशत पुरुष र २० प्रतिशत महिला बसाइँ सरेर गएका देखिन्छन् ।’
यस्तै, अन्तरजिल्ला बसाइसराइको तथ्याङ्क विश्लेषण गर्दा ०७८ मा मूल थलोका २० प्रतिशतले स्थायी आन्तरिक बसाइँसराइ गरेको देखिएको छ । विसं २०१८ मा यो दर ४.७ प्रतिशत मात्रै थियो । देशका ७७ ओटै जिल्लाको तुलनात्मक विश्लेषण गर्दा १८ ओटा जिल्लाले आफ्नो जिल्लामा जन्मिएका २० प्रतिशत जनसङ्ख्या गुमाएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ,। कुनै पनि जिल्लाबाट बाहिर बसाइँसराइ नगरेको भन्ने स्थिति छैन । बाह्र ओटा जिल्ला पर्सा, रौतहट, नवलपरासी (पूर्व), भक्तपुर, नवलपरासी (पश्चिम), ललितपुर, कञ्चनपुर, काठमाडौँ, कैलाली, रुपन्देही, बाँके र कपिलवस्तुबाट १० प्रतिशतभन्दा कम अन्यत्र जिल्लामा बसाइँसराइ गरी गएका भेटिन्छन्।’
काठमाडौँ उपत्यकामा बसाइँसरि आउने सबैभन्दा दर उच्च
यसैगरी, वि सं २०७८ को जनगणनाअनुसार काठमाडौँ जिल्लामा ५७.२ प्रतिशत बसाइँसराइ गरी आएका छन् । भक्तपुरमा ५०.२ प्रतिशत र ललितपुरमा ४६.२ प्रतिशत छन् जुन स्थायी बसोबासको सबैभन्दा उच्च दर हो । यी तीन जिल्लाबाहेक १६ जिल्लामा खुद बसाइसराइ धनात्मक देखिन्छ । तर, ५८ जिल्लाहरूको खुद आन्तरिक बसाइसराइ ऋणात्मक देखिन्छ अर्थात् बसाइँ सरी आउनेभन्दा जाने नै अधिक रहेको प्रतिवेदनले औँल्याएको छ ।
यस्तै, २०७८ को जनगणना अनुसार बसाइँ सरेकामध्ये २५.९ प्रतिशत आश्रित भएर, २४.९ प्रतिशत विवाहको कारणले, १९.२ प्रतिशत कामको अवसरका लागि र १४.१ प्रतिशत अध्ययन/तालिमका कारणले सरेका देखिन्छ ।
‘तराईमा बसाइँ सरेकामध्ये ३१.३ प्रतिशत विवाह र २६.७ प्रतिशत आश्रित भएर गएको देखिन्छ । प्रदेशगत रूपमा विश्लेषण गर्दा बागमती र गण्डकीमा कामको अवसर प्रमुख कारण छन् भने बाँकी पाँच प्रदेशहरूमा विवाह नै प्रमुख कारण रहेको छ,’ प्रतिवेदनले भनेको छ,
यस्तै, पहिलो, १० वर्षे द्वन्द्व, शान्ति प्रक्रिया र राजनीतिक प्रणालीको पुनर्संरचना पश्चात् ठुलो जनसङ्ख्या काठमाडौँ उपत्यका र अन्य सहरमा स्थायी रूपले नै बसाइँ सरेको देखिन्छ । मूलतः सुरक्षा र कामको अवसरका कारण यो स्थिति सिर्जनाका कारक हुन् ।
दोस्रोमा, २०७२ को भूकम्पपश्चात् आएका पराकम्पनको त्रास र पहाडी क्षेत्रको बसोबासको स्थितिको अनिश्चयले उपत्यका र नजिकको सहरी क्षेत्रमा बसाइसराइको प्रवृत्ति बढेको जनाइएको छ । हिमाल तथा पहाडका ३४ जिल्लामा त जनसङ्ख्या वृद्धिदर नै ऋणात्मक देखिएको छ ।
तेस्रोमा, कामको अवसरको लागि काठमाडौँ उपत्यकामा आउने र तत्पश्चात् विदेश जाने अवसर ९काम र अध्ययनको लागि० को खोजी गर्ने प्रवृत्तिमा व्यापकता आयो। परिणामतः जनसङ्ख्याको संरचनामा अभूतपूर्व परिवर्तन देखिएको प्रतिवेदनले जनाएको छ ।
भौगोलिक क्षेत्र अनुसार, कुल जनसङ्ख्या वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ । २०६८ सालको जनगणनामा तराईमा कुल जनसङ्ख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा बढेर ५३.६६ प्रतिशत पुगेको छ ।
हिमाली क्षेत्रमा कुल जनसङ्ख्याको ६.७३ प्रतिशत अंश रहेकोमा २०७८ मा ६.०९ प्रतिशत छ । पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत अंश रहेकोमा २०७८ मा ४०.२५ प्रतिशतमा झरेको छ । वार्षिक जनसङ्ख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ०।०२ प्रतिशतले ऋणात्मक छ । पहाडी क्षेत्रमा न्यून ०.२९ प्रतिशत वृद्धिदर र तराई क्षेत्रमा अन्य क्षेत्रमा १।५६ प्रतिशत वृद्धि छ ।
आन्तरिक बसाइँसराइ अत्यधिक हुँदा मुलुकमा जनसङ्ख्या वितरण असन्तुलित बन्दै गएको छ । जनसङ्ख्या वितरणमा तराई क्षेत्रको हिस्सा ठूलो दरमा बढ्दो छ । विज्ञका अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार सहित रोजगारीका लागि हिमाल र पहाडको जनसङ्ख्या तराईतिर सर्दै छ । जनसङ्ख्या वितरण थप असन्तुलित बन्दै गए भविष्यमा विकास वितरण र आर्थिक, राजनीतिक तथा सामाजिक व्यवस्था समेत प्रभावित हुने जोखिम छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले ३४ जिल्लामा जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेको देखाएको छ ।
प्रदेशगत वार्षिक जनसङ्ख्या वृद्धिदर हेर्दा ७ प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनीमा १.२५ प्रति वर्ष र सबैभन्दा कम गण्डकीमा ०.३० प्रति वर्ष छ । मधेसपछि तराईका धेरै जिल्ला समावेश भएको लुम्बिनीमा बुटवल र दाङ उपत्यका जस्ता भूभाग छन् ।
जनगणना २०७८ अनुसार जिल्लागत वार्षिक जनसङ्ख्या वृद्धिदर हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक छ । यसैगरी सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुरमा ३.३२ प्रतिशत र सबैभन्दा कम रामेछाप जिल्लामा भने १.६५ प्रतिशतले ऋणात्मक छ ।
राष्ट्रिय जनगणना २०७८ को ग्रामीण–शहरी जनसङ्ख्या वितरणले पनि गाउँबाट शहर सर्ने जनसङ्ख्या अनुपात बढ्दै गएको देखाउँछ । नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई शहरी तथा गाउँपालिका क्षेत्रलाई ग्रामीण क्षेत्र मान्दा २०७८ सालको कुल जनसङ्ख्यामा शहरी जनसङ्ख्या ६६।०८ प्रतिशत पुगेको छ ।
ग्रामीण जनसङ्ख्या ३३.९२ प्रतिशत छ । संघीय संरचनापछि स्थानीय तहलाई शहरी र ग्रामीण क्षेत्र अनुसार वर्गीकरण गरी २०६८ सालको जनसङ्ख्यालाई समायोजन गर्दा शहरी जनसङ्ख्या ६३.१९ प्रतिशत र ग्रामीण जनसङ्ख्या ३६.८१ प्रतिशत थियो । यसले ग्रामीण–शहरी जनसङ्ख्या अनुपात हेर्दा शहरी जनसङ्ख्या बढ्दो क्रममा छ ।
बढ्दो वैवाहिक बसाइँसराइ
नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० ले बसाइँसराइका विभिन्न कारण औँल्याएको छ । जसमा बसाइँसराइका करिब आधा हिस्सा वैवाहिक बसाइसराइको छ । वैवाहिक कारणले हुने बसाइँसराइ आर्थिक वा सेवा–सुविधाको कारण नभई सांस्कृतिक विशेषता समेत हो । त्यसपछि बसाइसराइको प्रमुख कारण शिक्षा, रोजगारी जस्ता अवसर खोजी नै रहेको देखिन्छ । त्यसमा पनि धनी र सम्पन्न वर्गभन्दा गरिब र विपन्न वर्गमा बसाइँसराइ उच्च हुने गरेको छ ।
कोशीमा गैर गरिब व्यक्तिमा ४४ प्रतिशत बसाइँसराइ छ । गरिब व्यक्तिमा ३० प्रतिशत मात्र छ । काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै बसाइँसराइ छ । काठमाडौँ उपत्यकामा रहेको ६०.२ प्रतिशत जनसङ्ख्या बसाइँसराइ गरी आएका हुन् । ग्रामीण क्षेत्रतर्फ सबै प्रदेशमा बराइ सराइ दर न्यून छ ।
ग्रामीण क्षेत्रमा वैवाहिकका कारण बसाइँसराइ हुने भए पनि ती क्षेत्रमा बसाइँसराइ गरी जाने जनसङ्ख्या अनुपात अत्यन्त न्यून छ । तर, ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा बसाइँ सर्ने जनसङ्ख्या उच्च हुँदा काठमाडौँ उपत्यकामा ६० प्रतिशतभन्दा माथि बसाइँसराइ गरी आएको जनसङ्ख्या देखिएको हो ।
ग्रामीण क्षेत्रमा पनि सबैभन्दा कम कर्णालीमा १६.८ प्रतिशत बसाइँसराइ दर छ । ग्रामीण क्षेत्रमा यो दर २६.७ प्रतिशत हुँदा शहरी क्षेत्रमा ३९.९ प्रतिशत छ । यसले शहरी र ग्रामीण क्षेत्रको राष्ट्रिय प्रवृत्ति प्रतिबिम्बित गरेको नेपाल जीवनस्तर सर्वेक्षणमा उल्लेख छ ।
बागमती प्रदेशमा विवाहका कारण ३३.१ प्रतिशत बसाइँसराइ हुँदा काम खोज्ने १५ प्रतिशत र शिक्षाका लागि ११.४ प्रतिशत बसाइँसराइ भएको पाइएको छ । कर्णालीमा ९.२ प्रतिशतले शिक्षाका लागि बसाइँसराइ गरेका छन् ।
काठमाडौँ उपत्यका बाहेक शहरी क्षेत्रमा बसाइँसराइका कारणमा परिवार पछ्याउने २७ प्रतिशत र कामको खोजीमा सर्ने ५.३ प्रतिशत छन् । काठमाडौँ उपत्यकामा कामका लागि सर्नेको दर उच्च छ । कामको खोजीमा १८.९ प्रतिशत उपत्यका सर्ने गरेको पाइएको छ ।
त्यस्तै शिक्षाका लागि सर्नेको प्रतिशत १३.७ छ । यसले पनि अवसरको खोजी र शैक्षिक कारण गाउँबाट शहर सर्ने क्रम उच्च रहेको देखाउँछ, अवसरलाई प्रतिविम्बित गर्छ । नेपालको समग्र जनसङ्ख्यामा बसाइँसराइ अनुपात १४.६ प्रतिशत छ । जसमा पुरुष अनुपात १८.८ र महिलाको १०.८ प्रतिशत छ ।
प्रतिक्रिया राख्नुहोस्