राणा विरुद्धको सशस्त्र क्रान्तिमा रेडियोको प्रयोग

सारसङ्क्षेप
प्रस्तुत अनुसन्धानात्मक लेख नेपालमा २००७ सालमा राणा विरुद्ध भएको शसस्त्र क्रान्ति र प्रजातन्त्रको पक्षमा जनमत बनाउन रेडियोको योगदानका विषयमा केन्द्रित छ । जङ्गबहादुर राणाले बि.सं. १९०३ मा आफू र आफ्ना परिवारले मात्र शासन गर्न पाउने गरी सुरु गरेको शासन प्रणाली १०० वर्ष पूरा गरेपछि कमजोर हुदै गयो । दोस्रो विश्वयुद्ध समाप्ति, अङ्ग्रेजहरूको भारतबाट वहिर्गमन, एसियाली मुलुकहरूमा चलेको स्वतन्त्रता र प्रजातन्त्रको लहरका कारण नेपाली जनतामा स्वतन्त्रताको सन्देश प्रवाह हुन पुग्यो । वि.सं. २००७ साल असोज १० र ११ गते भारतको बैरगनियामा सम्पन्न नेपाली कांग्रेसको सम्मेलनले राणा शासनको अन्त्यका लागि सशस्त्र क्रान्ति गर्ने औपचारिक प्रस्ताव पारित गरेपछि राणा शासकहरूका दिनगन्ती सुरु भए । त्यसको केही समयपछि राजा त्रिभुवनले भारतको शरण लिए र नेपाली कांग्रेसको मुक्ति सेनाले वीरगन्जमा हमला गरी कव्जा ग¥यो । नेपाली कांग्रेसले देशका धेरै शहर कव्जा गरे पनि पटक–पटक प्रयास गर्दा समेत विराटनगरमा झण्डा फहराउन सकेको थिएन । त्यही बेला क्रान्ति हेडक्वाटर रहेको जुटमीलबाट प्रारम्भ भएको ‘प्रजातन्त्र नेपाल रेडियो’ गोली, बम, बारुद भन्दा पनि शक्तिशाली सावित भयो । यो आलेख नेपाली कांग्रेसले २००७ सालको क्रान्तिका समयमा विराटनगरमा चलाएको प्रजातन्त्र रेडियो र त्यसले पारेको प्रभावका विषयमा केन्द्रित छ ।
मुख्य शब्द : मिडिया, रेडियो, पत्रकारिता, प्रजातन्त्र, निरङ्कुशतन्त्र
पृष्ठभूमि
नेपालमा १०४ वर्षसम्म चलेको राणाहरूको हुकुमी शासन अन्त्यका लागि २००७ सालमा नेपाली कांग्रेसले शसस्त्र क्रान्तिको घोषणा ग¥यो । यसक्रममा कात्तिक २५ गते साँझ सो पार्टीका कार्यकर्ताहरूले वीरगञ्जदेखि काठमाडौंंसम्मको क्षेत्रमा जहाजबाट राणाविरोधी पर्चा छरे (अधिकारी, २०७१, पृ.९२) । त्यो घटनाले राणाहरूको होसहवास उडाई दियो, पर्चा छर्नेले बम पनि फाल्न सक्छन् भनेर । ति पर्चा बमभन्दा शक्तिशाली साबित भए (जोशी, २०४८, पृ.७६) । यस अघि कात्तिक २१ गते भारतीय दुतावासमा शरण लिन पुगेका राजा त्रिभुवन कात्तिक २६ गते सपरिवार दिल्ली पुगे । त्यही दिन नेपाली कांग्रेसको मुक्ति सेनाले वीरगन्ज कव्जा ग¥यो । २००७ साल मंसिर १ को गोर्खापत्र लेख्छ – कात्तिक २५, २६ र २७ गते हिमालयन एयरको जहाजबाट देशद्रोहीले काठमाडौंं, वीरगन्ज, विराटनगर, धनकुटा लगायतका स्थानमा पर्चा खसाए (पृ. १) । त्यसपछि मुक्तिसेनालाई दुई भागमा विभाजन गरी पूर्व र पश्चिमका गोस्वारा र मालअड्डा कब्जा गर्न खटाइयो । गोपाल शमशेर र महेन्द्रविक्रम पश्चिमका लागि खटिए भने पूर्णसिंह र याक्थुम्बाको नेतृत्वमा सयजनाको टोली विराटनगरतर्फ लाग्यो । वीरगञ्जपछि विराटनगरलाई नेपाली कांग्रेसले मुख्य निसाना बनाएको थियो । मुक्तिसेनाले पुरै मोरङ कव्जा गरे पनि बडाहाकिमको निवास नियन्त्रणमा लिन सकेको थिएन । यसबीच तारिणीप्रसाद कोइरालाले जुटमीलमा रहेको वार हेडक्वाटरको एउटा कोठाबाट रेडियो प्रसारण सुरु गरे । राणा विरुद्धको संघर्षमा बन्दुक, गोली र तोप भन्दा पनि रेडियोले शक्तिशाली हतियार सावित भयो । यो आलेख प्रजातन्त्र स्थापनाका लागि स्थापना गरिएको रेडियो र त्यसको प्रभावका बारेमा केन्द्रित छ ।
अध्ययन विधि र सीमा
गुणात्मक विधिमा आधारित यो अनुसन्धानमा प्रजातन्त्र रेडियोको स्थापना, यसले प्रसारण गरेका विषयवस्तु र पारेको प्रभावका विषयमा केन्द्रित छ । प्रस्तुत आलेख तयार पार्ने क्रममा यस विषयमा प्रकाशित पुस्तक, जर्नल, पत्रपत्रिकाको अध्ययन र अन्तर्वार्तालाई आधार बनाइएको छ । प्राप्त तथ्याङ्कहरूलाई वर्णनात्मक र विश्लेषणात्मक विधिबाट प्रस्तुत गरिएको छ ।
सैद्धान्तिक अवधारणा
यो आलेख राजनीतिक प्रोपोगाण्डाको सिद्धान्तमा आधारित छ । मिडियाको दायित्व पाठक, श्रोता, दर्शकलाई सूचना, शिक्षा, मनोरञ्जन र अभिप्रेरणा दिने हो । सत्य, तथ्य र विश्वसनीय सूचनाको प्रवाह गर्नु मिडियाको कर्तव्य हो । यो समाजको ‘ऐना’ र परिवर्तनको आधार पनि हो (म्याक्वेल, २०१२, पृ. ८१) । प्रोपोगाण्डाको सिद्धान्तले सुनियोजित लगातार भ्रमक र अतिरञ्जित सूचना प्रवाह गरी गलत तथ्यलाई पनि सत्य यही हो भनेर स्थापित गर्न सकिन्छ भन्ने मान्यता राख्छ (ल्यासवेल, १९२७, पृ. ६२७)। यो आलेखलाई २००७ सालको क्रान्तिमा रेडियोको प्रयोग मार्फत राणाहरू विरुद्ध भ्रम सिर्जना गरी युद्ध जित्ने प्रयास गरियो भन्ने तथ्यको अध्ययन तथा विश्लेषण गर्न खोजिएको छ ।
नेपाली समाज र रेडियो सुन्ने चलन
इटालीका वैज्ञानीक गुग्लिएल्मो मार्कोनीले विना तार प्रसारण गर्न मिल्ने रेडियो प्रविधि आविश्कार सफल भएको केही समयपछि प्रथम विश्वयुद्ध आरम्भ भयो र रेडियोको विकास अघि बढ्न सकेन । पहिलो विश्वयुद्ध (सन् १९१४–०१८) को समाप्तिपछि सन् १९२० मा युरोप र अमेरिकामा प्रसारण संस्था खुले (शाह, २०५४, पृ. १२१) । त्यही वर्ष अमेरिकाले केडिकेए नामका विश्वकै पहिलो रेडियो स्थापना गरी नियमित प्रसारण थाल्यो भने त्यो रेडियोबाट २ नोभेम्बर १९२० मा राष्ट्र«पति चुनावको नतिजा प्रसारण गरियो । प्रारम्भिक दिनमा रेडियो स्थापना गर्ने कम्पनीहरू सेट उत्पान गरी बेच्ने व्यवशाय गर्थे । बेलायती उपनिवेशमा रहेको छिमेकेकी मुलुक भारतले बम्बैबाट सन् १९२१ रेडियोको परिक्षण प्रसारण थाल्यो र १९२३ देखि कलकत्ताको रेडियो क्लबले नियमित प्रसारण सुरु ग¥यो । त्यसको एक वर्षपछि सन् १९२४ देखि बम्बै क्लबले पनि नियमित प्रसारण गर्न थाल्यो । भारतबाट प्रसारण सुरु भएपछि नेपालीले रेडियो सुन्न थालेको र सेट भित्राएको अनुमान गरिए पनि यकिन तथ्य पाइदैन (वन्त, २०६१, पृ. ३५–३६) । बि.सं. १९८९ मा जुद्धशमशेर प्रधानमन्त्री भएपछि नेपाल भित्र राणा र उनका निकट मानिसहरूले रेडियो सुन्न थाले । त्यो बेलासम्म आमजनतालाई रेडियो सेट राख्ने अनुमति थिएन (नेपाल, २०७२, पृ. १८४) संस्कृति मौलाउदै गयो । तर त्यो बेलासम्म । रेडियो विस्तारका क्रममा भारतले सन् १९३६ मा अल इण्डिया रेडियोको स्थापना गरेपछि नेपालभित्र यसको प्रसारण सुन्न सकिने भयो । राणा शासकको अनुमति विना रेडियो राख्न नपाइने भएकाले सीमित रोलवाला राणा र उनीहरूका विस्वास पात्रसँग मात्र रेडियो सेट थियो भन्न सकिन्छ । रेडियो सेट आयातमा समेत वृद्धि हुन पुग्यो (वन्त, २०६१, पृ.३७) । अनि घरका छानामा लामा–लामा एरियल राखेर रेडियो सुन्नेहरूको सङ्ख्या वढ्दै गयो । बि.सं. १९९३ रेडियोबाट अन्तर्राष्ट्रि«य समाचार टिपेर त्यसलाई लिखित रूपमा ‘द न्यूज रिल’ नामको समाचार बुलेटिन तयार गरी प्रधानमन्त्री सहित सोखिन राणाहरूलाई पठाउने गरेको पाइन्छ । सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धमा रेडियोलाई प्रोपोगाण्डा हतियारका रूपमा दुरुपयोग गरियो । बेलायत हार्ने भयो भन्ने हल्ला व्यापक भएपछि अङ्ग्रेजको आडमा शासन चलाई रहेका राणाहरू अत्तालिए र काठमाडौंका घरघरबाट चार सय रेडियो सेट जफत गरी सिंहदरवारमा जम्मा गरियो । विश्वयुद्धको समाप्तिपछि श्री ३ बनेका महाराज पद्मशमशेरले सर्वसाधारणलाई रेडियो राख्न अनुमति दिए र देशमा रेडियो प्रसारणको प्रयास गरे (शाह, २०५४, पृ. १२२) । दोस्रो विश्वयुद्धबाट फर्किएका नेपालीले युद्धमा प्रयोग गरेको वायरलेसबाट काशीराज पाण्डेले रेडियो प्रसारण सुरु गरे । पाण्डे (२०७५) लेख्छन्–
मेरा काहिला बा काशिराजको तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरसँग राम्रो सम्वन्ध थियो । मेरा पिता मीनराज पण्डेले काइला भाई मार्फत प्रधानमन्त्रीबाट एक ब्याट्र«ी सेट रेडियो खरिद गर्ने अनुमति प्राप्त गरी कलकत्ताबाट हिज मास्टर्स भ्वाइस कम्पपनीद्धा निर्मित एउटा रेडियो खरिद गरेर विराटनगर ल्याउनुभयो । त्यो नै मोरङ जिल्लाको पहिलो सेट थियो । त्यसपछि मात्र बजार भाउ सम्बन्धी सूचना लिन समेत फारवेशगञ्ज पुग्नु पर्ने विराटनगरबासीको बाध्यता अन्त भयो । पाण्डेको घरमा पुगेर रेडियो सुन्नेहरूको संख्या विराटनगरमा बढ्दै गयो (पाण्डे, २०७५, पृ. २२–२४) ।
वि.सं. १९९७ मा चार सहिदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठ चार सहिदको हत्या गरिएपछि राणा सरकारले जनता भड्किन सक्छन् भन्ने त्रासका कारण नेपालभित्र विदेशी पत्रिकाको आयातमा रोक लगाउनुका साथै रेडियो सुन्न प्रतिवन्ध लगायो । पाण्डे (२०७५) लेख्छन्–
त्यो बेला मेरो पिताजी मिनराजले वडो सावधानीका साथ राति मात्र रेडियो सुन्ने गर्नुहुन्थ्यो । रेडियोको एरियल तार दिउँसो लुकाइन्थ्यो र रात परेपछि पुनः टाँगीन्थ्यो । पिताजीबाट मैले सुनेको हुँ, त्यो बेला रातिको समयमा मजदुरको भेष बनाएर पूर्व प्रधानमन्त्रीहरू मातृका, बीपी, गिरिजाप्रसाद र उनीहरूका पिताजी कृष्णप्रसाद कोइराला समेत हाम्रो घरमा रेडियो सुन्न आउने गर्नुहुन्थ्यो ( पृ. २२–२४) ।
महाराज जुद्धले भतिजा पद्मशमशेरलाई शासन सत्ता सुम्पिएपछि राणा सरकारको व्यवहार खुकुलो हुँदै गयो । रत्नपार्कमा हाल विद्युत प्राधिकरण रहेको स्थान (विजुली अड्डा) बाट २००३ साल माघ १४ गतेबाट नेपाल ब्रोडकाष्टिङको नाममा रेडियो प्रसारण हुन थालेको हो (के.सी, गोरखापत्र, २०८० फागुन १) । त्यसपछिका दिनमा प्रधानमन्त्रीका महत्वपूर्ण भाषण र घोषणा त्यही मार्फत हुन थाले (वन्त, २०६१, पृ. ४५) । पद्मपछिका प्रधानमन्त्री मोहनशमशेरले रेडियोलाई चाहिने प्रविधि, उपकरण, जनशक्ति तथा तिनको तालिमका लागि वजेट छुट्टाएर देशका विभिन्न भागमा मोहन आकाशवाणीका नाममा रेडियो प्रसारण गर्ने व्यवस्था मिलाए । ‘काठमाडौंमा ब्रोडकाष्टिङ स्टेशन खुल्यो’ शीर्षकमा २००६ कात्तिक ३ गतेको अङ्कमा गोरखापत्र लेख्छ–काठमाडौंमा ब्रोडकाष्टिङ स्टेसन खोली मलाया, वर्मा, भारतवर्षमा रहेका नेपाली र नेपालभर मुलुकलाई यसबाट प्रोग्राम सञ्चार गराउनलाई काठमाडौं सहरदेखि स्टुडियो भवन बनाउन श्री ३ बाट ५ लाख निकासा भयो (पृ. १)।
राणा विरोधी क्रान्ति : भोजपुरबाट पहिलो प्रसारण
२००७ साल मङ्सिरको कुरा हो । राणा फौज र नेपाली कांग्रेसको मुक्ति सेनाबीच देशका विभिन्न भागमा सङ्घर्ष चलिरहेको थियो । पूर्वी नेपालको भोजपुर जिल्लामा मुक्ति सेनाले कांग्रेसको चारतारे झण्डा फहराई सकेको थियो । वन्त (२०६१) लेख्छन्–
जिल्लाका सबै सरकारी अड्डा आफ्नो नियन्त्रणमा आएपछि क्रान्तिकारीहरू राणाकालमा स्थापना गरिएको आकाशवाणी वायरलेशलाई प्रचार प्रसारको साधन बनाई रेडियो ब्रोडकाष्ट सुरु गरे । पहिलो प्रसारण भएको दिन थियो मंसिर २५ गते । यसरी भोजपुरबाट रेडियोमा पहिलो आवाज प्रसारण गर्ने युवा थिए, जयन्द्र थपलिया । त्यसबेला विहान र वेलुका रेडियोबाट समाचार प्रसारण गर्ने गरिएको थियो । थपलियाले विना सेन्सर मुक्ति सेनाले धनकुटामा आक्रमण गर्ने समय र स्थानको सूचना प्रसारण गरिदिएका कारण राणा फौज सर्तक भयो र पाख्रिबासमा सरकारी सुरक्षाकर्मीबाट मुक्ति सेनाका सात जना भोजपुरे यौद्धाहरू मारिए (पृ.४८) ।
मुक्ति सेनाले २००७ साल मङ्सिर २४ गते भोजपुर कव्जामा लिएको थियो । त्यसको भोलीपल्ट २५ गतेदेखि क्रान्तिकारीहरूले रेडियो प्रसारण गरेका थिए । २००७ सालको क्रान्ति र त्यस क्रममा रेडियो प्रसारण भएको कुरा त्यस क्षेत्रमा प्रसिद्ध छ । भोजपुर निवासी रेडियो नेपालका सेवा निवृत्त पत्रकार कोइराला (२०६८) को स्मरणमा त्यो घटनालाई लिएर स्थानीबासीहरूले घाँसदाउरा, मेलापात र गोठाला जाँदा यस्तो यस्तो भाकाको गीत गाउने गर्थे –
सात साल मंसीर २४ गते अड्डा तातेल थियो
मौका छोपी रामप्रसादले भोजपुर कब्जा लियो
भोलीपल्टै स्वतन्त्र नेपाल रेडियो भयो
फुर्किएर मुक्तिेसेना अघि बढ्दै गयो
भोजपुरबाट सर गर्न धनकुटा गए
मुक्तिसेना पाख्रिबासमा बास बस्ने भए
भोजपुरेको त्यही बास भयो एकै चिहान
पानी प¥यो असिना ओइरालो
मन्त्री भयो विश्वेश्वर कोइरालो
(कोइराला, २०६८, पृ. १०९) ।
जन जिब्रोमा यस्तो भाका झुण्डिनुले २००७ सालको क्रान्तिका बेला प्रसारण भएको रेडियोको बलियो प्रभाव तत्कालीन समाजमा परेको देखिन्छ ।
विराटनगरबाट प्रवाह भएको त्यो रेडियो सन्देश
भोजपुरका क्रान्तिकारीहरूले वायरलेश मार्फत रेडियो प्रसारण गरेको सुनेपछि विराटनगर मोर्चामा लडिरहेका तारिणीप्रसाद कोइरालाले त्यही उपकरण प्रयोग गरी रेडियो प्रसारण गर्ने योजना बनाए । लामो प्रयासपछि पनि मुक्ति सेनाले विराटनगरलाई कब्जामा लिन सकेको थिएन । सिङ्गो मोरङ नेपाली कांग्रेसको नियन्त्रणमा थियो, तर बडाहाकिम उत्तम विक्रम राणाको निवास वरपरको कम्पाउण्ड भने कव्जा भएन । उनी आत्मसमर्पण नगरेर निवासमा मोर्चा कसेर बसेका थिए (पाण्डे, २०७५, पृ. ३७) । बडाहाकिम निवासको कम्पाउण्डमा रहेको सानो पल्टनलाई मुक्ति सेनाले परास्त गर्न सकिरहेको थिएन । मंसिर २८ गतेको कुरा हो, क्रान्ति हेडक्वाटर रघुपति जुटमिलबाट बीपी कोइराला देशभरका मोर्चासंग त्यहाँको गतिविधिबारे सूचना लिने र निर्देशन दिने काममा व्यस्त थिए । त्यही दिन गोलीगठ्ठा लिन भनेर लडाइँको मोर्चाबाट सीधै वार हेडक्वाटर पुगेका तारिणीप्रसाद कोइरालाले बीपीलाई ओखलढुङ्गा, धनकुटा, इलामतर्फका कमान्डरलाई धमाधम सन्देश दिन र उनीहरूको रिर्पोट लिन व्यवस्था रहेको अवस्थामा पाए (कोइराला, २०६१ : ५६) ।”
नेपाल (२०७५) लेख्छन्–
त्यति बेला मुक्तिसेनासंग गोलीको अभाव भैसकेको थियो । स्टक छदै थिएन । दुईतीन ओटाभन्दा बढी गोली कसैसँग थिएन । राणा फौजले तत्काल आक्रमण गरि हाल्यो भने प्रतिकार गर्ने क्षमता समेत उसंग थिएन । बीपीलाई तारिणीले मुक्ति सेनाका सिपाहीसँग गोली नभएको जानकारी दिए । एकछिन घोत्लिएर बीपीले भने, “भोलि दिउँसो नभई गोलीको व्यवस्था हुन सक्दैन । हाम्रा सिपाहीहरूले शत्रुको मोर्चालाई केवल घेरेर मात्र राखून् । एक फायर पनि नगरुन् । आजको रात बिताएपछि भोलि गोली सप्लाई गरिन्छ । तिमी जाऊ, म सुत्छु (पृ. १३२–१३३)।
बीपीको बानी नै हो, कुनै ठूलो सङ्कट आई प¥यो र तत्काल त्यसलाई समाधान गर्ने उपाय छैन भने पनि नआत्तिने बरु मस्तसँग सुतिदिने । उनले तारिणीलार्य भनेका थिए–आज गोलीको व्यवस्था गर्न सम्भव छैन, भोली आइपुग्छ । राणाहरूले आक्रमण गरि हाले भने जसरी पनि उनीहरलाई रोक्नु पर्छ । बीपीको कक्षबाट अत्तालिदै वाहिरिदा तारिणीकोलाई लाग्यो गोलीबिनाको बन्दुकका भरमा कसरी राणाको फौजसँग मुकाबिला गर्ने ? ठीक त्यही बेला उनले वायरलेसमा सुने आवाज सुनियो । हेलो भोजपुर… भोजपुर । “तपाईंहरू निश्चिन्त रहनोस् । हाम्रा सिपाहीहरू उत्साही छन् । विराटनगरबाट गई तमोरमा रोकिएका सिपाहीहरूलाई हामी यताबाट मद्दत पु¥याउँछौं, पश्चिमबाट हमला गर्छौं (कोइराला, २०६१, पृ. ५८) ।”
भोजपुरका क्रान्तिकारीहरूको त्यो आवाजले तारिणीलाई रोमाञ्चित बनायो । मानौं एकै पटक उनले लाखौं गोली पाएका छन् । २००७ साल मंसिर २८ गते विहान ८ बजे विराटनगरबाट क्रान्तिकारी रेडियो प्रसारण आरम्भ भयो (बस्नेत, २०६८–ख, पृ. १६१) । विराटनगर जुटमिल भित्र वायरलेस राखिएको कक्षबाट तारिणीप्रसाद कोइरालाले जोडले कराउँदै भने, “हेलो भोजपुर । हाम्रो विराटनगर मोर्चा पनि बलियो छ । सम्भवतः आज हामी शत्रुको मोर्चाभित्र पस्छौं । भोलि उज्यालो हँुदासम्म विराटनगर हाम्रो कब्जामा आइसक्नेछ । त्यसपछि कोसी तर्ने बन्दोवस्त गरिनेछ । आज एक्कासि शत्रुको मोर्चामा हमला गर्ने योजनामा छौं (कोइराला, २०६१, पृ. ५८) ।” उनले मुक्तिसेनामा भर्ना हुनका लागि तीन सय स्वयम्सेवकले नाम लेखाइसकेकाले र उनीहरूलाई बन्दुक बाँड्ने तयारी गरेको सन्देश पनि प्रवाह गरिदिए । “पहिला गोलीको कमी थियो, अब त्यो पनि पूरा भयो । हामी भोलि या पर्सि धनकुटामा भेटौंला, जय नेपाल ।” त्यसपछि ट्रान्समिटरको ‘स्विच अफ’ भयो । गोलीको आभावमा कुन बेला मारिने हो भन्दै त्रासमा बाँचेको मुक्ति सेनाका जवानहरूलाई त्यो सन्देशले ठूलो उर्जा दियो । उनीहरूले खुसी हुदै तारिणीलाई भने– गज्जबै भयो, तारिणीबाबु, गज्जबै भयो । हामीले एकै पटक राणाहरू माथि हजारौं गोली पड्काए सरह भयो । उनीहरूको होस उड्यो होला । अब मज्जाले सुत्न पाइने भयो । उनीहरूले हामी माथि आक्रमण गर्ने कुरा सोच्न पनि सक्ने छैनन् (नेपाल, २०७५, पृ. १३४)। रेडियोमा प्रसारण भएको त्यही सन्देशका कारण राणाहरूले मुक्ति सेना माथि आक्रमण गर्ने हिम्मत गरेनन् र क्रान्तिकारीहरू जोगिए । युद्धका बेला प्रोपोगाण्डाको कति शक्ति हुदोरहेछ भन्ने अध्ययन गर्न चाहने अध्यताहरूका लागि यो घटना महत्वपूर्ण छ ।
नियमित प्रसारणमा प्रजातन्त्र नेपाल रेडियो
२००७ साल मंसिर २८ गते दिउँसो २ बजेको कुरा हो । विराटनगरबाट नेपाल भारत सिमा नजिक रानीमा रहेको रघुपति जूट मिलको एउटा सोनो कोठाबाट क्रान्तिका बारेमा आमजनतालाई सूचना दिन र राणा शासक विरुद्ध प्रचार युद्ध चलाउन ‘प्रजातन्त्र नेपाल रेडियो सञ्चालनमा ल्याइयो (प्रधान, २०६१, पृ. १२०–१२१) । यसका कल्पनाकार तारिणीप्रसाद कोइरालाले सर्वप्रथम रेडियो माइक समातेर भनेका थिए–जय नेपाल, प्रजातन्त्र नेपाल रेडियोबाट तारिणीको अभिवादन (बस्नेत, २०६८–क, पृ. ८८) । त्यसपछि उनले भनेका थिए – यो प्रजातन्त्र नेपाल रेडियो हो, हामी मुक्तिसंग्रामको कुनै अज्ञात मोर्चाबाट बोलिरहेका छौ । त्यस दिनदेखि रेडियोले निरन्तर समाचारका साथै क्रान्तिकारी गीत प्रसारण गर्न थाल्यो । जसले राणाहरूको मनोबल गिराउन त महत्वपूर्ण भूमिका खेल्यो नै, मुक्ति सेनाको मनोबल बढाउनका लागि राणाविरोधी जनमत बनाउन ठूलो योगदान पु¥यायो (प्रधान, २०६१, पृ. १२०–१२१)। राणाहरूको अन्याय, अत्याचारका बारेमा जनतालाई जागरुक बनाउने काम ग¥यो । विराटनगरबाट प्रसारित रेडियोको आवाज सुन्न नसकेर अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेर पछि रोलक्रममा रहेका कमान्डर इन चिफ बबर शमशेरले आफ्नो घरको रेडियो लात्ताले हानी चकनाचुर बनाइदिएका थिए (नेपाल, २०७५, पृ. १३६) ।
सधै आफ्नो जय जय कार मात्र सुनेका राणाहरूमा प्रजातन्त्र रेडियोमा प्रसारण हुने गरेको आफ्नो आलोचना सुन्न सक्ने धैय भएन । बस्नेत (२०६८–ख) लेख्छन्–
जनताले क्रान्तिकारी रेडियो सुन्न नसकुन भन्नका लागि प्रजातन्त्र रेडियो नेपाल प्रसारण हुने समय विहान ८ बजेदेखि अपरान्ह २ वजेसम्म काठमाडौंमा विद्युत आपूर्ती वन्द गरिदिए । राणाहरूको अवरोधका बाबजुदत असंख्य नेपालीले ब्याट्रि«को मद्तले अटुट रूपमा रेडियो सुनिरहे (पृ.१६२) ।
क्रान्तिकारी रेडियो भारतका धेरै भूभागसम्म सुनिने गरेको थियो । राणा प्रधानमन्त्री पद्मशमशेरले सर्वसाधारणलाई रेडियो राख्ने अनुमति दिएपछिका दिनमा धनीमानीहरूमा घरमा रेडियो सुन्ने संस्कृति विकास हुदै थियो । तर तिनले नेपाली भाषामा समाचार र कार्यक्रम सुन्न पाएका थिएनन् ।
प्रजातन्त्र रेडियो सुन्न काठमाडौंका पसलहरूमा ठूलो भीड लाग्ने गथ्र्याे । एकदुई पटक त रेडियो सुन्न जम्मा भएको भीडमा पुलिसले लाठीचार्जसमेत गरेको थियो । त्यो बेला “राणाहरूले सुइँको नपाउने गरी लुकीछिपी काठमाडौंको रिपोर्टिङ प्रकाशमान सिंह (पछि उनी रेडियो नेपालका निर्देशकसमेत भए)ले गर्थे । लैन (बेलायती दूतावास, लैनचौर) पोस्ट अफिसबाट चिठी पठाउँथे । तर समाचारदाताको नाम गोप्य राखिन्थ्यो (कोइराला, २०६१, पृ. ६१) ।” विष्ट (२०७४) का अनुसार त्यो रेडियोको प्रसारण काठमाडौँ उपत्यकासम्म मात्र होइन, बनारस, गोरखपुर, कलकत्ता र दार्जिलिङसम्म सुनिएको थियो (पृ. ४७) ।
ति दिन त्रिचन्द्र क्याम्पसमा प्राध्यापक रहेका प्राध्यापक यदुनाथ खनाललाई उदृत गर्दै कोइराला (२०६८) लेख्छन् –काठमाडौंमा रेडियोको आवाज निक्कै कडा र चर्को सुनिएको थियो । रेडियोमा एकदमै तेजिलो र राणा विरोधी भाषण सुनिन्थे (पृ. ११४)। प्रजातन्त्र रेडियोले बिहान, दिँउसो र बेलुकी तीन पटकसम्म नेपाली, हिन्दी, अङ्ग्रेजी र नेवारीमा समाचार प्रसारण गरी लडाइमा विद्रोहीलाई हतियारभन्दा ठुलोे शक्ति र भरोसा दिएको थियो ।
प्रजातन्त्र रेडियोमा प्रसारण भएका गीत
प्रजातन्त्र रेडियोले समाचारका अतिरिक्त गीत बजाउने गरेको थियो । तारिणी आफैले रचना गरेका र केही अरुले लेखेका गीत बजाइएका थिए । एलबी सुब्बाको रचना र रानुदेवी अधिकारीको स्वर रहेको ‘नेपाली अघि बढ हातमा क्रान्ति क्रण्डा लि, नेपाली’ बोलको क्रान्तिकारी गीतले त्यो क्रान्तिमा घिऊ थप्ने काम गरेको थियो (कोइराला, २०६८, पृ. ११४)।
नेपाली अघि बढ हातमा क्रान्ति झण्डा ली ।
क्रान्ति झण्डा ली, नेपाली ।
आऊआऊ दाजुभाइ, आऊ दिदीबहिनी,
अब हामी अघि बढौं, काँधमा काँध मिलाई ।
पछि नसरौं अबदेखि जेजे परे पनि (बस्नेत, २०६६ : १९४) ।
प्रजातन्त्र रेडियोमा तारिणीले रचना गरेका पाँच र अरुका केही गीत प्रसारण भएका थिए । प्रजातन्त्र रेडियोमा प्रसारण भएको पहिलो गीतकी गायिका अधिकारी (२०७६) ले भनेकी छन् –
हाम्रो परिवार नै कांग्रेसमा थियो । क्रान्ति सुरु भएपछि हामी जोगवनीमा बस्न थालेका थियौ । तिहारको वेला थियो । क्रान्तिको समाचार दिन भनेर तारिणी मामाहरूले रेडियो खोल्नु भएको थियो । क्रान्तिका गतिविधि समेटेर कहिले तारिणी मामा, कहिले इन्दिरा दिदी समाचार पढ्नु हुन्थ्यो । मलाई गित गाउन शोख थियो । मामाले क्रान्तिकारी गीत गाउन भन्नुभयो । अनी म लाईभ गाउन थाले । म बानारसमा जन्मी हुर्केकी केटी । भर्खरै विहा भएर विराटनगर आएकी । मलाई के थाहा थिएन । त्यो गीत गाउदा राणाहरूले समाउछन् भन्ने पनि त्रान थिएन । केटाकेटी नै त थिए म । तारिणी मामाले भन्नु भयो गाए । परिवारले पनि प्रोत्साहित गरेकै थियो । लाईभ गाइयो । हार्मुनियम, तवला वजाउने मानिस पनि हुन्थे । (अन्तर्वार्ता, २०७६ जेठ ३२)।
क्रान्तिकारी रेडियोमा बजेको अर्को गीत यस्तो थियो ।
आज देशको क्रान्ति युद्धमा
हाम्रो एउटा पुकारा होस्
लड्दा लड्दै मरे मेरौला
यो एउटा नै नारा होस्
खडा भयो जनतन्त्र फौज लौ आउ, आउन नेपाली
मातृभूमीले मुक्तकण्ठमा डाक्छिन्, आई गोर्खाली
नेवार आउ, पर्वते आउ, आउ वीर गुरुङ राई
मधेशी, क्षेत्री, बाहुन् आउ, तामाङ अरु मगर भाई
सबै जातीको रक्त मिलेको
बग्ने एउटै धरा धारा होस्
लड्दा लड्दै मरे मरौँला
यो नै एउटा नारा होस्
(अधिकारी, अन्तर्वार्ता, २०७६ जेठ ३२)
त्यसै गरी त्यो क्रान्तिका कमाण्डर बीपी कोइरालाको बारेमा कविता शैलीको यो गीत पनि प्रजातन्त्र रेडियोले प्रसारण गरेको थियो ।
वीर विश्वेश्वर जिन्दाबाद
शोषित जनहित जीवन निर्मित
अमर पिताका स्मृतिमय अर्पित
जन जागृतीको तरुण प्रभात
वीर विश्वेश्वर जिन्दावाद
(अधिकारी, अन्तर्वार्ता, २०७६ जेठ ३२)
राणा विरुद्धको क्रान्तिमा जनतालाई जागरुक बनाउन र क्रान्तिको पक्षमा वातावरण श्रृजना गर्न प्रजातन्त्र नेपाल रेडियोको ठूलो योगदान छ ।
रेडियोमा पहिलो लाईभ रिपोटिङ
मुक्तिसेना र राणा फौजबीच भीषण गोली हानाहान चलिरहँदा एक दिन तारिणीले रेडियो उपकरणलाई एउटा ट्र«कमा राखेर धानको खेतैखेत सिङ्ग्याही नदी किनारमा पु¥याउन लगाए । मुक्ति सेना र राणा फौजकाबीच दोहोरो गोली हानाहान चलेको आवाज आईरहेको थियो । क्रान्तिकारीहरूले नदी किनारको बालुवामा रेडियो स्टेसन खडा गरे । जेनेरेटर चलाइयो र अग्लो सिमलको रुखमा एरियल राखियो । त्यस दिन लडाइको घटनावारे जनतालाई लाइभ प्रसारण मार्फत जानकारी दिने योजनाका साथ यो काम गरेका थिए ।
राणाहरूले आक्रमण गरिहाले प्रतिकार गर्न भनेर हातहतियार सहित चार पाँच स्वयंसेवक तयारी अवस्थामा थिए । तारिणीको आफ्नै काधँमा पनि बन्दुक थियो । सबै तयारी पूरा भएपछि तारिणीले माइक समाए र नेपाली रेडियो इतिहासकै पहिलो लाइभ रिपोटिङ सुरु गरे, युद्ध मैदानबाट । गोली चलेको आवाजका बीच उनले भने “यो प्रजातन्त्र नेपाल रेडियोको आवाज हो । आजको कार्यक्रम हामी मुक्ति सेना र राणा सैनिकहरूबीच घमासान युद्ध भैरहेको स्थानबाट प्रसारण गरिरहेका छौ । कोइराला (२०६१) लेख्छन्– हाम्रो जेनेरेटर सिङ्ग्याही नदीको डिलमा उभिएको ट्रकमा छ र ट्रकमुनि ट्रान्समिटर राखिएको छ । सुरक्षाका दृष्टिले हामीले हाम्रा कलाकारलाई नदीको डिलमुनि पानीछेउको बालुवामा राखेका छौं र माइक पनि यहीँ छ (कोइराला, २०६१, पृ. ६५) ।” रेडियो प्रसारण भैरहँदा दुई, तीन इन्चका मोर्टार पड्किएको आवाज लगातार प्रसारण भैरहेको छ । लडाईका बारेमा आफ्ना श्रोतालाई संवोधन गर्दै तारिणीले भनेका थिए “यो आवाज जो तपाईंहरू सुन्दै हुनुहुन्छ । फायरिङ लाइनबाट आएको मोर्टारको आवाज हो (कोइराला, २०६१, पृ. ६५) ।” यसरी नेपाली रेडियोमा लाइभ रिर्पाेटिङको इतिहास कोरियो । प्रजातन्त्र रेडियो प्रसारण हुन थालेपछि राणा सरकारलाई ठूलो संकट आइलाग्यो । त्यसले प्रसारण गरेका कति सूचना सत्य हुन् र कति प्रोपोगाण्डा हुन् भन्ने छुट्टाउन उनीहरूले सक्ने अवस्था थिएन । प्रजातन्त्र रेडियोले देशका कुना काप्चामा प्रजातन्त्रको सन्देश मात्र प्रवाह गरेन, मुलुकलाई क्रान्तिमय बनाईदियो र राणाहरूको पतन अवश्य छ भन्ने सन्देश प्रवाह ग¥यो (बस्नेत, २०६८–ख, पृ. १६२) ।
विराटनगर मोर्चाको लडाईमा जति प्रयास गर्दा पनि मुक्ति सेनाले सफलता पाउन सकेको थिएन । तिन ताका विराटनगरका जमिन्दार ईश्वरचन्द्र धाडेवाको एउटा ‘क्याटर पिलर मोडेल’ को ट्याक्टर थियो । त्यसका पाँग्रा पनि फलामकै थिए । त्यही ट्र«याक्टरलाई वर्कसपमा लगेर साना ठूला फलामका पाताले बेरी ट्याङ्क बनाइयो र बडाहाकिम उत्तमविक्रम राणाको निवासमा आक्रमण गरियो (पाण्डे, २०७५, पृ. ३८) । त्यो बडेमानको क्याटर पिलर ट्याक्टर बडाहाकिम निवासको कम्पाउण्ड भत्काएर भित्र छिरेपछि राणा फौजलाई मुक्ति सेनाले घँुडा टेकायो । बडाहाकिम राणाले आत्मसमर्पण गरे र सम्पूर्ण रूपमा विराटनगर नेपाली कांग्रेसको कव्जामा आयो (नेपाल, २०६७, पृ. ३९) । त्यस दिन प्रजातन्त्र नेपाल रेडियोबाट एक दिन प्रसारण भएको समाचार यस्तो थियो, “आज हाम्रो मुक्तिसेनाले १४ दिनदेखि घेरामा पारेर राखेको शत्रुको गढलाई छिन्नभिन्न पारी सम्पूर्ण विराटनगर आफ्नो कब्जामा पा¥यो । अब मोरङ जिल्लाको एक इन्च भूमि पनि शत्रुको हातमा छैन (कोइराला, २०६१, पृ. ६५) ।” प्रजातन्त्र स्थापनापछि त्यही रेडियो (२००७ साल चैत २० गतेदेखि) काठमाडौंबाट नियमित रूपमा नेपाल रेडियोका नाममा प्रसारण हुन थाल्यो । यस सन्दर्भमा २००७ साल चैत्र १७ गतेको अंकमा नेपाल समाचार विभागको नाममा गोरखापत्रमा यस्तो सूचना प्रकाशित भएको पाइन्छ– पर्सी चैत्र २० गतेका दिनदेखि काठमाडौंबाट समाचार प्रचार (ब्रडकाष्टिङ) सुरु हुने भएको छ । त्यसको बिशेष विवरण आगामी संख्याको गो.प. (गोरखापत्र) मा प्रकाशन गरिने छ (गोरखापत्र, २००७ चैत्र १७, पृ. १) । यसरी प्रजातन्त्र नेपाल रेडियोलाई काठमाडौंमा ल्याएर ‘रेडियो नेपाल’ मा रूपान्तरण गरिएको थियो । रेडियो नेपालले पाक्षिक पत्रिका झङ्कारको पहिलो अंक (२००८ आश्विन १–१५) आफ्ना संस्थापक निर्देशकका बारेमा लेखेको छ–जसले मुक्ति संग्रामको मोर्चामा उभिई एक हातमा राईफल र अर्को हातमा माइक लिदैं रेडियोद्वारा समस्त नेपाली जनतालाई जगायो, जसले अहिले नेपाल रेडियोलाई यस रूपमा खडा ग¥यो, उहाँ नै हुनुहुन्छ स्टेसन डाइरेक्टर श्री तारिणीप्रसाद कोइराला (तारिणीप्रसाद कोइराला, एक दृष्टि : अनेक स्मृति, २०६८, पृ. १७२) ।
निष्कर्ष
देशमा १०४ वर्षसम्म चलेको राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न क्रान्तिकारी रेडियोको सर्वाधिक भूमिका थियो । मुक्ति सेनाले राणाहरू फौजसँग लडे पनि उनीहरूको मनोवल कमजोर बनाउन, युद्ध प्रोपोगाण्डाको माध्यमबाट शत्रु पक्षलाई कमजोर बनाउन तथा राणाहरूको चाकरी र जय जयकार मात्र गरेका जनतालाई उनीहरूको अन्याय अत्याचार वारे सूसूचित गरी प्रजातन्त्रको पक्षमा संघर्ष गर्न तयार गर्ने वातावरण बनाउन प्रजातन्त्र नेपाल रेडियोले योगदान पु¥यायो । २००७ सालको क्रान्तिमा विराटनगरमा प्रसारण भएको त्यही रेडियोलाई प्रजातन्त्र स्थापनापछि काठमाडौं ल्याएर चैत्र २० गतेदेखि नियमित प्रसारण थालियो । रेडियो नेपालमा रूपान्तरण भएपछि यसले सात दशक भन्दा बढी समयदेखि यसले नेपाली भाषा, संस्कृति, कला, साहित्य, सूचना, समाचार र कार्यक्रमका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।
(लेखक त्रिभुवन विश्व विद्यालय, रत्न राज्यलक्ष्मी क्याम्पस काठमाडौँका उप–प्राध्यापक हुनुहुन्छ ।)
प्रतिक्रिया राख्नुहोस्