पत्रकार हत्या र मिडियामाथिको आक्रमणविरुद्ध विराटनगरमा प्रदर्शन
मोरङ । पत्रकार सुरेश रजकको हत्या र आमसञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा मोरङका पत्रकारहरू आन्दोलित भएका छन्। शुक्रबार राजावादीहरूको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको समाचार सङ्कलनका लागि भिडियो खिचिरहेको बेला प्रदर्शनकारीहरूले गरेको आगजनीमा परी मृत्यु भएको थियो ।

यही घटनाको विरोधमा नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले विराटनगरमा विरोध प्रदर्शन गरेको छ। महासङ्घको कार्यालयबाट सुरु भएको विरोध र्याली ट्राफिक चोक, महेन्द्र चोक र सनिमन्दिर हुँदै जलजला मोड पुगेर पुनः ट्राफिक चोकमा कोण सभामा परिणत भएको थियो।
कोण सभामा बोल्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कमल रिमाल र मोरङ शाखा अध्यक्ष सुशिला पाठकले पत्रकार रजकको हत्यामा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।
आज नेपाल पत्रकार महासङ्घको स्थापना दिवस पनि हो। तर पत्रकार र मिडियामाथि भएको आक्रमणका कारण महासङ्घले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी विरोध प्रदर्शनमा उत्रिएको हो। केन्द्रीय सदस्य रिमालका अनुसार, आज बस्ने पत्रकार महासङ्घको बैठकले आगामी विरोध कार्यक्रमहरूको बारेमा थप निर्णय गर्नेछ।
प्रतिक्रिया राख्नुहोस्