मकवानपुरमा सवारी दुर्घटनामा परि एकको मृत्यु, एक घाइते

मकवानपुर । पूर्व पश्चिम राजमार्ग स्थित मकवानपुरको मनहरी गाउँपालिकामा सोमबार सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–७, स्थित मनहरी पुरमा भएको दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग स्थित मनहरी पुरमा चितवनबाट हेटौडातर्फ आउँदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ आउँदै गरेको ना ६ ख ४०५५ नम्बरको ट्रकले ठक्कर दिँदा रत्ननगर नगरपालिका– पिठुवा बस्ने ५६ वर्षीय निम बहादुर थापाको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक ५५ वर्षीय राजमी गौतम घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुवैजनालाई मनहरी अस्पताल लगिएकोमा थापालाई डाक्टरले मृत घोषणा गरेको साथै गौतमलाई थप उपचारका लागि चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले ट्रक र ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेशगंज बस्ने ओम प्रसाद खनाललाई नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै मकवानपुरको राक्सिराङ गाउँपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । राक्सिराङ–६, कोलडाँडा बस्ने ४९ वर्षिया सिता माया गलानको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार घाँस काट्न घरबाट हिँडेकी गलान घर नफर्किए पछि आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा घरदेखि करिब १ कि.मि. पश्चिम सिलिङगे सामुदायिक बनको भिरबाट तल खसी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान पुरा गरि शवलाई हेटौडा अस्पताल ल्याएको साथै घटना सम्बन्धमा अनुसन्धान जारी रहेको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्