सुख्खा पहिरो खसेपछि तीन दिनदेखि महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला । महाकाली नगरपालिका–५ किम्तडीस्थित ठण्याकाठा भिरमा सुख्खा पहिरो खसेपछि तीन दिनदेखि महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।
शुक्रबार बिहानै सडक चोडा पार्ने क्रममा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको हो । सुख्खा पहिरोले काम गरिरहेको मेसिन समेत पुरिएको छ।
जिल्ला सदरमुकाम खलङ्गादेखि ३ किलोमिटरको दुरीमा रहेको लोकमार्ग बन्द भएपछि स्थानीय नागरिकलाई आवतजावतमा समस्या भएको छ।
जिल्ला सदरमुकाम जोड्ने मुख्य मार्ग अवरुद्ध भएपनि लोकमार्ग खुलाउन कुनै निकायले चासो नदिएको स्थानीयको गुनासो छ । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका यात्रु तथा मालवाहक सवारी अलपत्र परेका छन् । सबै यात्रु बिरामी एवं स्कुले बालबालिकालाई आवतजावतमा समस्या भएको छ ।
सडक अवरुद्ध भएपछि काम विशेषले सदरमुकाम आवतजावत गर्ने नागरिकले अप्ठ्यारो उकालो डाँडाको बाटोबाट कष्टकर पैदल हिँड्नुपर्ने अवस्था सृजना भएको स्थानीय नारायण दत्त जोशीले बताउनुभयो।
‘पैदल बाटो हिँड्न विद्यार्थीहरू, वृद्धवृद्धा तथा बिरामीलाई साह्रै अप्ठ्यारो रहेको र सदरमुकाम विद्यालयमा पढ्ने बच्चाहरूलाई पिठ्युँमा बोक्नुपरेको छ”, उहाँले भन्नुभयो “सरोकारवाला निकायलाई नागरिकको समस्या बोध नभएको जस्तो महसुस भएको छ । सडक अवरुद्ध भएको तीन दिनसम्म खुलाउने प्रयास देखिएन ।”
अवरुद्ध सडक सञ्चालनका लागि डिभिजन सडक कार्यालय बैतडीलाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्