कामकाजी अभिभावकको भरोसा बन्दै दिवा शिशु स्याहार केन्द्र
काठमाडौँ । माघको पारिलो घाम । साना नानीहरूलाई एउटा कोठामा स्याहारकर्ताले लिटो खुवाइरहेका छन् । खेलौनाले भरिएको अर्को कोठामा गीत बजिरहेको छ, जहाँ बच्चाहरू रमाइरहेका देखिन्छन् । यो दृश्य हो, राज्यकै शक्तिशाली प्रशासनिक केन्द्र सिंहदरबारमा अवस्थित दिवा शिशु स्याहार केन्द्रको । बच्चाहरू पनि स्वच्छन्द तरिकाले खेलिरहेको देख्दा लाग्छ, उनीहरू आफ्नै घरमा छन् ।
केन्द्रमा ठ्याक्कै १ः३० बजे राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत पवित्रा केसी आउनुभयो । उहाँ हरेक दिन ‘ब्रेक टाइम’मा आफ्नो १४ महिनाको बच्चालाई स्तनपान गराउन शिशु स्याहार केन्द्र आइपुग्नुहुन्छ । उहाँले तीन महिनादेखि बच्चालाई यहाँ भर्ना गर्नुभएको छ । श्रीमान् र श्रीमती दुवै जागिरे । घरमा स्याहार गर्ने कोही नभएपछि केन्द्रमा राखेको उहाँको भनाइ छ ।
केसी जस्तै देवकी पाण्डे पनि आफ्नो छ महिने बच्चालाई स्तनपान गराउन खाजा समयमा आउनुहुन्छ । रेडियो नेपालमा कार्यरत उहाँले पहिलो सन्तान पनि यही केन्द्रमा राखेर हुर्काउनुभएको हो । उहाँले यही माघ १ गतेदेखि दोस्रो सन्तानलाई पनि कार्यालय समयमा यहाँ राख्न थाल्नुभएको हो । केन्द्रको स्याहारसुसार, खानपानलगायतका व्यवस्थापन राम्रो रहेको पाण्डे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “केन्द्रले हामीजस्तो कामकाजी आमालाई निकै सजिलो बनाएको छ । अफिस नजिक भएर पनि बेलाबेला आउन सहज छ । खाना स्वास्थ्यकर छ । स्याहार राम्रो छ । बच्चालाई यहाँ छोड्दा ढुक्क लाग्छ ।”
राष्ट्रिय अनुसन्धानमा कार्यरत केसीलाई पनि यहाँको सेवा सन्तोषजनक लागेको छ । “जागिरे बा–आमाका लागि यो केन्द्रले निकै फाइदा पुर्याएको छ । घरमा बच्चा हेर्ने मान्छे नभएपछि चिन्ता लाग्ने र काममा पनि ध्यान नजाने । हामी दुवै खुसी छौँ”, उहाँले भन्नुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा कार्यरत ऋचा कर्णलाई एउटै पिरलो थियो, बच्चा भएपछि कसरी स्याहार गर्ने ? दम्पती नै जागिरे हुँदा कसरी बच्चाका लागि समय निकाल्ने भन्ने चिन्ता अहिले दिवा केन्द्रले दूर गरिदिएको कर्णको भनाइ छ । हाल उहाँको बच्चा १० महिनाको भएको छ । “समय समयमा दूध खुवाउन आउन पाएकी छु । सुरुमा त केन्द्रको खानपिन कस्तो होला भन्ने चिन्ता लाग्थ्यो तर सबै सेवा राम्रो लाग्यो । पौष्टिक खानेकुरा दिनुहुन्छ । समयमा खुवाइदिने, डाइपर लगाइदिने सुविधा छ ।” उहाँले सरकारले यस्ता दिवा केन्द्र अरू ठाउँमा पनि खोल्नुपर्ने बताउनुभयो ।
शिला शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कम्प्युटर अपरेटरका रुपमा कार्यरत हुनुहुन्छ । बच्चा सात महिना हुँदा दिवा केन्द्रमा राख्नुभएको थियो, अहिले १४ महिनाको भइसकेको छ । सेवा सुविधा राम्रो रहेको उहाँको भनाइ छ ।
थप बजेट आवश्यक
दिवा शिशु स्याहार केन्द्र विसं २०६७ मा निजामती कर्मचारी श्रीमती सङ्घद्वारा व्यवस्थापन हुनेगरी सञ्चालनमा ल्याइएको हो ।
सङ्घमा मुख्य सचिवकी श्रीमती पदेन अध्यक्ष हुने व्यवस्था छ । केन्द्रकी व्यवस्थापक शान्ति थापाका अनुसार बालबालिकालाई तीन प्रकारले वर्गीकरण गरिएको छ । तीन महिनादेखि एक वर्ष, एक वर्षदेखि दुई वर्ष र दुई वर्षदेखि तीन वर्षसम्मका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था छ । हाल केन्द्रमा ७५ जना शिशु छन् । खानामा उमेरअनुसार जाउलो, ओट्स, सेरलेक्स्, रोटी, अण्डा, फलफूल दिइन्छ । आमाहरूले हाजिर गर्नुभन्दा अघि नै ९ः३० बजे केन्द्र खुलिसक्छ । सरकारी कार्यालयको समयअनुसार नै यहाँको सेवा सञ्चालन हुने गरेको छ । ब्रेक टाइममा बेलाबेलामा आएर आमाहरू स्तनपान गराउँछन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमा सञ्चालित यो दिवा सेवा केन्द्रमा ७५ जना बालबालिकाको क्षमता छ । हाल ४० जना बालबालिका प्रतीक्षा सूचीमा छन् ।
बच्चाहरूलाई स्याहार गर्ने, खाने, सुताउने, मात्र नभई मानसिक विकास, सामाजिक घुलनका लागि विभिन्न क्रियाकलापमा संलग्न गराउने गरिएको सह–व्यवस्थापक सङ्गीता घिमिरे बताउनुहुन्छ । “हामीले हरेक बालबालिकाको क्रियाकलापलाई ध्यानमा राखेका हुन्छौँ । कसैको आँखा पो कमजोर छ कि, केही अङ्गमा समस्या पो छ कि भनेर याद गर्छौं”, उहाँ भन्नुहुन्छ, “बच्चाले आँखाको इसारा, सुनेर, खेल्दा धेरै कुरा सिक्छन् । बच्चामा पनि एकअर्कासँग प्रतिस्पर्धाको भावना हुँदो रहेछ । समयसमयमा आमाहरूलाई पनि स्याहारसम्बन्धी तालिम दिँदै आएका छौँ ।”
बालबालिकाले समूहमा बस्ने, मिलेर खाने र खेल्ने सबै तालिकाअनुसार गर्छन् । “घरमा खाने टुङ्गो हुँदैन । यहाँ स्कुलजस्तै गरेर राखिएको छ । खाने, सुत्ने हरेक कुराको समय तालिका बनाएका छौँ । त्यहीअनुसार बच्चाहरू मिलेर बसेका छन्”, उहाँ भन्नुहुन्छ । व्यवस्थापनले आमाहरूको ‘भाइबर ग्रुप’ पनि बनाइदिएको छ । बच्चाले दिनभर गरेको क्रियाकलाप भाइवरमा राखिन्छ, जसले कामका बेलामा पनि आमालाई आफ्नो बच्चाको न्यास्रो नलगोस् र काम गर्ने ऊर्जा प्राप्त भइराखोस् ।
निजामती कर्मचारी सङ्घकी कार्यवाहक अध्यक्ष राधा ज्ञवाली महिला कर्मचारीलाई काम गर्न सहज होस्, स्तनपान गराउन सहयोग होस् र कार्यदक्षतामा असर नपरोस् भन्ने उद्देश्यले दिवा सेवा केन्द्र सञ्चालन गरिएको बताउनुहुन्छ । उहाँले सङ्घले दुई वर्षदेखि ललितपुरमा पनि दिवा सेवा केन्द्र सञ्चालन गरेको र भक्तपुरमा पनि खोल्ने तयारी रहेको बताउनुभयो । हाल केन्द्रमा निजामती स्थायी कर्मचारीका छोराछोरीले मात्र भर्ना पाउने व्यवस्था छ । ठाउँ सीमित भएकाले त्यसो गर्नुपरेको ज्ञवाली बताउनुहुन्छ । “धेरै करारका कर्मचारीहरूले बच्चालाई राख्दिनुपर्यो भनेर अनुरोध गर्नुभएको छ, तर बजेट र ठाउँ अभावले ७५ जनाको मात्र क्षमता रहेको छ”, उहाँ भन्नुहुन्छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले केन्द्र सञ्चालनका लागि वार्षिक रु ६० लाख दिँदै आए पनि यो वर्ष रु ७० लाख बजेट प्राप्त भएको छ । यसअघि अभिभावकहरूले महिनाको रु एक हजार पाँच सय तिर्दै आए पनि बजेट अभावले यो वर्षदेखि रु दुई हजार सात सय बनाउनुपरेको व्यवस्थापन पक्षको भनाइ छ ।
हाल १३ जना स्याहारकर्ता केन्द्रमा कार्यरत छन् । तीन महिनादेखि एक वर्षसम्मका १७ शिशु छन्, उनीहरुलाई चार जनाले हेर्छन् । यस्तै, एकदेखि दुई वर्षसम्म २८ जनालाई चार जना स्याहारकर्ताले स्याहार गर्छन् । दुईदेखि तीन वर्षका ३० जनालाई पाँच जनाले स्याहार गर्छन् । भान्सामा एक जना कुक र एक सहयोगी छन् ।
सहव्यवस्थापक थापाले दिवा सेवा केन्द्रको मापदण्डअनुसार पूर्वाधार निर्माण गर्न नसकिएको बनाउनुभयो । “पूर्वाधार बालबालिकामैत्री छैनन् । बजेट कम छ । हरेक बच्चालाई आया त पुगेको छैन तर पनि स्याहारमा हामीले शतप्रतिशत दिने प्रयास गरेका छौँ । स्तनपान कक्ष, बिरामी कक्षको आवश्यकता छ । बजेटले भ्याएसम्म गुणस्तरीय सेवा कायम गर्ने कोशिस गरेका छौँ ।” बुनु थारु/ रासस
प्रतिक्रिया राख्नुहोस्