सडकआश्रित मानवको पुनर्स्थापन सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको मानव सेवा आश्रम शाखा कार्यालय भवनको उद्घाटन भएको छ । सबैका लागि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको चाहना पूरा गर्ने उद्देश्यसहित सहयोगापेक्षी तथा सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण अभियान अन्तर्गत उक्त भवन निर्माण गरिएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सडक आश्रित व्यक्तिहरूको अभिभावकत्व ग्रहण गरी उनीहरूको पुनः स्थापनालाई प्राथमिकता दिने बताउनुभयो। ‘कोही पनि भोकै बस्नुपर्ने छैन, सडकमा बास हुने अवस्था समाप्त पार्न सरकारले आवश्यक कार्यविधि बनाउनेछ’ मुख्यमन्त्री आचार्यले भन्नुभयो –‘कार्यविधि यसै बर्ष बनाउँछौँ ।’
आगामी वर्षका बजेट तथा कार्यक्रममार्फत यस अभियानलाई थप मजबुत बनाइने उहाँको भनाइ छ ।
मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार साढे ७ करोड रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको छ। प्रदेश र स्थानीय सरकारको १ करोड ८३ लाख सहयोग रहेको र बाँकी रकम विभिन्न दानदाताबाट सङ्कलन गरिएको जनाइएको छ । भवनको पूर्ण निर्माणका लागि थप २ करोड बजेट आवश्यक पर्ने आश्रमले जनाएको छ ।
प्रदेश सरकार र मानव सेवा आश्रमको सहकार्यले सहयोगापेक्षी सडक आश्रित व्यक्तिहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिकालगायत स्थानीय तहका प्रमुख, उपप्रमुख, उद्योगी, व्यवसायी, समाजसेवीले यसमा सहकार्य गरेका छन् ।
२०८२ सालभित्र सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने मानव सेवा आश्रमको तयारी, १० हजार ७ सयको उद्धार, स्रोत जुटाउन रुपन्देहीमा थालियो महायज्ञ
यसैबीच, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा मानव सेवा आश्रमको स्रोत जुटाउन श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । आश्रमको स्रोत व्यवस्थापनका लागि महायज्ञ सुरु गरिएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५, पहुनीमा निर्माणाधीन आश्रमको भवनलाई पूर्णता दिन आयोजना गरिएको महायज्ञमा ३ करोडभन्दा बढी आर्थिक सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।
सात दिनसम्म चल्ने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथा वाचक रहनुभएको छ । सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामूहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रम राखिएका छन् ।
महायज्ञमा बिहान हरेक दिन ५ बजेदेखि ७ बजेसम्म योग समेत सञ्चालन गरिने छ । महायज्ञबाट सङ्कलित रकमबाट अक्षयकोष वृद्धि गर्ने लक्ष्य समेत राखिएको छ ।
२०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म देशभरका १० हजार ६ सय ८९ जनाभन्दा बढी सहयोगापेक्षी सडक मानवको उद्धार गरी व्यवस्थापन गराइसकेको छ । आश्रमले सात वटै प्रदेशमा गरी २० जिल्लामा २४ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।
मानव सेवा आश्रमले २०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारी गरेको छ । उक्त अवधिसम्म देशभर खुला आकाशमुनि रात बिताउन बाध्य बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरूको मानवोचित व्यवस्थापन गरिने विश्वास गरिएको छ ।
महायज्ञको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव सेवा, विकास र उन्नतिको लागि महायज्ञको माध्यमबाट योगदान गरिएको बलियो उदाहरण मानव सेवा आश्रम रहेको बताउँदै प्रदेश सरकारले मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूको स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो ।
“यो धर्तीमा जति सम्म रहन्छौँ, सेवामा समर्पित हुनुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रो समाज, हाम्रो परम्पराले पनि आम्दानीको दश प्रतिशत रकम सेवाको निम्ति दान गर्नु भनेको छ । त्यहीँ भएर यस्ता पवित्र काममा मन फुकाएर, मुठ्ठी फुकाएर दान गर्न जरुरी छ ।”
प्रतिक्रिया राख्नुहोस्