राष्ट्रिय एकताका लागि सार्वजनिक सेवा प्रसारण
सामाजिक रूपान्तरणमा खरो भएर उत्रन पिएसवीलाई विज्ञहरुको सुझाव

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण आवाज विहीनहरूको आवाज बनेर सामाजिक रूपान्तरणमा खरो उत्रन सामाजिक साँस्कृतिक क्षेत्रका विज्ञहरुले सुझाव दिनुभएको छ ।
सार्वजनिक सेवा प्रसारणको पूर्वारम्भ कार्यक्रमको दोस्रो दिन आयोजित सामाजिक साँस्कृतिक रूपान्तरणमा पिएसवीको भूमिका विषयको छलफलमा विज्ञहरुले देशका विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने समुदायलाई जोड्ने र अपनत्वको भावना विकास गर्ने दायित्व पिएसवीले लिनुपर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रममा वरिष्ठ रङ्गकर्मी एवं नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले समतामुलक समाज निर्माणमा योगदान पुर्याउन सक्ने कला, साहित्य र संस्कृतिको प्रचारप्रसार र विकासमा पिएसवीले योगदान दिनुपर्ने बताउनुभयो ।

मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख एवं वरिष्ठ सञ्चारकर्मी राजेश अहिराजले महिलाका मुद्दामा पुरुष, दलितका मुद्दामा गैह्र दलित र मधेशका मुद्दामा पहाड वा हिमालका व्यक्तिहरूले आवाज उठाउने अवस्था नआउँदा सम्म समाजबाट विभेदको अन्त्य गर्न कठिन हुने उल्लेख गर्नुहुँदै सार्वजनिक सेवा प्रसारणले कुनै एक समुदायको हक–अधिकारको मुद्दा उठाउँदा अर्को समुदायको विचार समेत समेट्नुपर्ने बताउनुभयो ।

आदिवासी जनजाति आन्दोलनका विज्ञ एवं सार्वजनिक सेवा प्रसारण सञ्चालक समिति सदस्य अनिता गुरुङले सामाजिक विभेद विरुद्धका कानुनहरूको कार्यान्वयनमा जोड दिँदै व्यक्तिका व्यवहारमा परिवर्तन ल्याउन सके मात्रै सामाजिक रूपान्तरण सम्भव हुने बताउनुभयो ।
वरिष्ठ मानवअधिकार कर्मी हिरा विश्वकर्माले समाज रुपान्तरणका लागि राज्यले कानूनी रुपमा दिएका अधिकारहरू कार्यान्वयनका लागि समाजका सबै पक्षको पहल र सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

संस्कृति विद्हरू प्राध्यापक डा. रमेश प्रसाद भट्टराई र प्राध्यापक डा विणा पौडेलले सामाजिक विभेदको अन्त्यका लागि सामाजिक न्यायप्रति प्रतिबद्ध र बलियो राज्य संरचनाको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्