तपाईँ सुन्दै हुनुहुन्छः

आलु खेतीमा व्यावसायिक बन्दै किसान

डडेल्धुरा । डडेल्धुराको भित्री मधेश क्षेत्र आलिताल र परशुरामका नगरपालिकाका किसानहरू पछिल्ला वर्षहरूमा आलु खेतीमा व्यावसायिक बन्दै गइरहेका छन् । 

 प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ (आलु सुपरजोन), कृषि ज्ञान केन्द्र लगायतका संस्थाहरूबाट प्राविधिक तथा आर्थिक सहयोग पाएपछि उनीहरू व्यावसायिक बन्न थालेका हुन । नगदेबालीलाई विस्थापित गर्दे यहाँका किसानहरु आलु खेतीमा आत्मनिर्भर हुन थालेपछि आयस्रोतको मुख्य पेशा बन्न थालेको छ आलु खेती । 

 किसानहरूको जीवनस्तरमा उल्लेख्य सुधार आउन थालेपछि अहिले समूहगत र व्यक्तिगत रुपमा १० रोपनी देखि ३० रोपनी सम्म आलु खेती गर्न थालेको परशुराम नगरपालिका वडा नं.७ घुम्टेगडाका अगुवा कृर्षक अजुवा धामीले बताउनुभयो । आलिताल गाउँपालिका–८ रहेको रंगुन ताजा तरकारी उत्पादन समूहका अध्यक्ष लालबहादुर डालामगरले माटो र वातावरण आलु खेतीका लागि उपयुक्त रहेको बताउनुभयो ।

‘पहिले गहुँ खेती गरिन्थ्यो, तर आम्दानी कम थियो,’ उहाँले भन्नुभयो । ‘अब आलु खेतीले हाम्रो जीवन बदलेको छ । बजारको राम्रो व्यवस्थापन भयो भने वार्षिक आम्दानी बढ्ने सम्भावना छ । बर्खे तरकारी खेती पनि सम्भव भएकाले हाम्रो आम्दानीको स्रोतमा वृद्धि भएको छ ।’ डाला मगरका अनुसार समूहका ४० जना किसानले करिब एक सय रोपनी जमिनमा आलु लगाएका छन् । 

परशुराम नगरपालिका १२, खजुरानीमा रहेको सिद्धनाथ बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष मानबहादुर भण्डारीले भन्नुभयो, ‘हामी २१ जना किसानले आलुको बीउ उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छौँ । १७० रोपनीमा आलु खेती  बिस्तार गरिएको छ । गत वर्ष २ लाख रुपैयाँसम्मको आम्दानी भयो । यस वर्ष बीउ उत्पादनलाई अझै वृद्धि गर्ने योजना छ ।’

१० रोपनीमा आलु खेती गर्दै आउनुभएका परशुराम नगरपालिका १२, खजुरानीका किसान, मनिष बोहराले सामान्य तरकारी खेतीबाट अहिले व्यवसायी रुपमा आलु खेतीमा लाग्नु भएको छ । उहाँ विशेष गरेर आलुको बीउ उत्पादनमा लाग्नु भएको छ । तर, आलुमा डडुवा रोग लाग्ने समस्या रहेको गुनासो उहाँले ब्यक्त गर्नुभयो । स्थानीय सरकारले विगतमा ढुवानीमा अनुदान दिने गरेको भएपनि पछिल्लो समय खासै सहयोग नपाएको उहाँका भनाई छ । परशुराम नगरपालिका–७ घुम्टेगडाका किसान प्रेमसिंह ठगुन्नाले  ढुवानीको समस्याले आफ्नो व्यवसायमा निकै कठिनाइ भएको बताउनुभयो । ‘यहाँ बजार छैन, हामीले उत्पादन गरेको आलु महेन्द्रनगरसम्म पु¥याउनुपर्छ, तर ढुवानी खर्च निकै महँगो छ । वडा र नगरपालिकाले यो समस्या समाधान गर्न सके हाम्रो उत्पादन अझै राम्रो हुने थियो उहाँले भन्नुभयो । 

 परशुराम नगरपालिका ५ परिगाँउमा लटिनाथ कृषि तथा पशुपंक्षी कृषक समूह बनाएर किसान आलुखेतीमा लागेका छन् । समूहका अध्यक्ष सुरेन्द्र बहादुर बोहराले आलुखेती गर्दै आइरहेका किसानले बजार पाउने समस्या भएकाले स्थानीय तहले पहल गरिदिन आग्रह गर्नुभयो । उहाँले २५ कुन्टल आलुको बिउ आलुसुपरजोनले सहयोग गरेको बताउनु भयो ।  २० जनाको समूहले अहिले ३५ रोपनीमा आलुखेती गरिरहेको उहाँले बताउनु भयो । उहाँले स्थानीय तहले किसानका लागि भरपर्दो बजार व्यवस्थापन गर्न सक्नुपर्ने बताउनु भयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ डडेल्धुराका प्रमुख भीष्मराज रेग्मीले किसानहरु पछिल्लो समय आलुको बीउ उत्पादनमा आकर्षित भएको अनुभव सुनाउनुभयो  । 

आफूहरूले पनि आलुबालीको क्षेत्र बिस्तार गर्न लागेको उहाँले बताउनु भयो । यहाँका किसानलाई आलु खेतीमा आत्मनिर्भर बनाउने योजना रहेको बताउँदै उहाँले आलुमा केही रोग लागेमा आफूहरूले प्राविधिक सहयोग गर्ने गरेको तथा स्थानीय पालिकाको कृषि शाखामा समेत समन्वय गर्ने गरेको बताउनुु भयो । उहाँका अनुसार डडेल्धुराका किसानले उत्पादन गरेको आलुको बीउ सुदूरपश्चिमका सबै जिल्ला सम्म पुग्ने गरेको बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button