कृष्णसारको आहाराका लागि संरक्षण क्षेत्रभित्रै मौसमी खेती
गुलरिया (बर्दिया) I कृष्णसारको आहारा सङ्कट टार्न बर्दियाको खैरापुरमा मौसमी खेती थालिएको छ ।
वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा कृष्णसारलाई सूचीकृत गरेको छ ।
हिउँदमा कृष्णसारको आहारा मासिएपछि कृष्णसार संरक्षण क्षेत्रमा मौसमी खेती गर्नुपरेको कृष्णसार संरक्षण क्षेत्रका संरक्षण अधिकृत भोजराज पन्थले बताउनुभयो । संरक्षण क्षेत्रभित्रै कृष्णसारको बासस्थान परिसरको आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । उहाँले भन्नुभयो, “पहिलो चरण गरिएको खेतीमा गहुँ, मकै, केराउ, मसुरोलगायत अनाज छरेका छौँ । यसले केही दिनलाई कृष्णसारको आहाराको जोहो हुन्छ । ”
पहिलो पटक छरेको अनाज कृष्णसारले खाएर सकेपछि पुनः दोस्रो चरणमा छर्ने तयारी कार्यालयको छ । वन्यजन्तु संरक्षण ऐनले सूचीकृत गरेको वन्यजन्तु कृष्णसार प्राकृतिक बासस्थानमा लोप हुने खतरा बढेपछि सरकारले संरक्षण क्षेत्र घोषणा गरी यसको संरक्षण थालनी गरेको हो । कृष्णसारको प्राकृतिक बासस्थान खैरापुरमा सिरुलगायत दुबो पनि लगाइएको हो । कृष्णसारले यस्तो दुबोको टुसा खान मनपराउने बताइएको छ । कृष्णसारलाई हिउँदमा आहारा सङ्कट पर्ने गर्छ ।
गुलरिया नगरपालिकाको खैरी पटाहा क्षेत्रको प्राकृतिक वासस्थानमा भाले, पोथी बच्चा गरी दुई सय १७ वटा कृष्णसार रहेको कृष्णसार संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्क छ ।
कृष्णसारको बासस्थान अतिक्रमण, चरीचरण क्षेत्रमा पार्थेनियमलगायत मिचाहा प्रजाति, छाडा पशुको खुला चरीचरण कृष्णसार संरक्षणको प्रमुख चुनौती रहेको संरक्षण अधिकृत पन्थ बताउनु हुन्छ । यथेष्ट आर्थिक अभावकाबीच पनि संरक्षणमा चुनौती रहेको छ । हिउँदमा कृष्णसारको चरीचरण क्षेत्रका आहारा घाँस सुक्ने भएकाले पनि समस्या पर्ने गरेको कार्यालयले जनाएको छ ।
बर्दियाको गुलरियास्थित खैरापुरको पटाहा क्षेत्रको प्राकृतिक बासस्थानमा रहेका एन्टीलोप प्रजातिका कृष्णसारहरू । हिउँदे सुक्खायाममा घाँस नहुँदा कृष्णसारलाई चरीचरणको समस्या पर्छ ।
प्रतिक्रिया राख्नुहोस्