तपाईँ सुन्दै हुनुहुन्छः

संस्कृति संरक्षणमा जुट्दै सल्यानका विद्यालय 

सल्यान । आधुनिकताले छपक्कै छापेको नेपाली समाजमा पुराना, कला, संस्कृति र परम्परा ओझेल पर्दै जान थालेका छन् । मुख्यगरी अधिकांश क्षेत्रका युवापुस्ता नै आफ्नो कला, संस्कृति र परम्परा संरक्षणमा उदासिन देखिन्छन् । तर पछिल्लो समय मौलिक संस्कृति लोप हुने अवस्था सिर्जना भएको भन्दै सल्यानका विद्यालयहरूले भने चासो देखाउन थालेका छन् । 

 जिल्लाका झन्डै एक दर्जन सामुदायिक विद्यालयले पुरा संस्कृति संरक्षण गर्न अभियानै थालेका छन् । विशेषगरी मयुर नाँच संरक्षण तर्फ विद्यालयले पहल थालेका छन् । यसले परम्परागत लोकसंस्कृतिको संरक्षण मात्र नभई आम्दानीको स्रोत समेत बन्न थालेको सूर्य प्रकाश आधारभूत विद्यालय बागचौर नगरपालिका -९ कुइयापानीका शिक्षक चेत बहादुर बुढाथोकीले बताउनुभयो । साना विद्यार्थीलाई पुराना संस्कृतिका बारेमा जानकारी गराउँदै उक्त संस्कृतिको संरक्षण र प्रवद्र्धनमा लागि परेको उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘मयुर नाचको संरक्षण गर्न थालेपछि चाडपर्व, मेलापात, विवाह तथा व्रतबन्ध जस्ता कार्यमा समेत आजभोली बोलाउने  गरेका छन् जसबाट संस्कृतिको संरक्षण हुनुका साथै विद्यालयको खातामा आम्दानी पनि बढ्न थालेको छ ।’ 

बुढापाकाबाट पुराना संस्कृतिको हस्तान्तरण नभई लोपोन्मुख हुन थालेपछि विद्यालयले संरक्षणमा हात अघि बढाउनु पर्छ भने मयुर नाचको संरक्षण गरि रहेको जनज्योति माध्यमिक विद्यालय दार्मा गाउँपालिका ३  फारुलाचौरका शिक्षक शिम हमालले बताउनु भयो । युवापुस्ताले  परम्परागत संस्कृतिको संरक्षणमा चासो र चिन्ता जाओस् भन्ने मुख्य उद्देश्य यसको रहेको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘अघिल्लो पुस्ताले गाउँ र नाच्ने यी पुराना संस्कार संरक्षण नहुँदा पछिल्लो समय लोप हुँदै गएको थियो । अहिले युवाहरू मिलेर संरक्षण अभियान सञ्चालन गरिएको छ ।’  पुरानो लोप हुँदै गएको मयुर नाच सिक्न र सबैलाई  देखाउन पाउँदा निकै रमाइलो लाग्ने गरेको सूर्य प्रकाश आधारभूत विद्यालयमा अध्ययनरत छात्र सुशील ओलीको भनाई छ । 

परापूर्वकालदेखि लठ्ठी खेल्ने अर्थात् हाता खेल्ने प्रचलन थियो भने पछि गएर यही नाच एउटै शूर ताल अनि एकै प्रकारको लयमा नाच्ने मयुर नाच बन्न पुग्यो । मयुर नाच पाउमा नियोर र हातमा लठ्ठी लिएर नाच्ने गरिन्छ जसमा ९ जना पुरुष र ९ जना महिला गरि १८ जनाको समूह बनाएर नाच्ने गरिन्छ भने कुनै समूहमा बढीमा १२ जना पुरुष र १२ जना महिला गरि २४ जनाको समूह हुने गर्दछ । मादल, ट्याम्को, मुरली र क्यासिनोको धुनमा शुरु हुने मयुर नाचको महत्त्वपूर्ण बाजा मादल र ट्याम्कोलाई लिने गरिन्छ । 

समूह अगुवाले सिट्ठीको माध्यमबाट निर्देश गर्ने यो नृत्य बाजाको धुनसँगै अगाडि बढ्ने गर्छ । मयुरको प्वाँखबाट निर्मित सामग्रीलाई गड्का समेत भनिन्छ । चिटिक्क परेको ड्रेससँगै गड्का लगाएर नाच्दा साँच्चै नै मयुर नाचेको जस्तो देखिन्छ मयुर नाच । जसमा मयुर जस्तै नाच्दै १ र १ हात गर्दै २२ हातसम्म नृत्य गर्दै नर्तक नर्तकीहरु पुग्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button