तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचारमुक्त लुम्बिनी प्रदेश बनाउन सबै इमानदार बनौँ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशमा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राप्ती उपत्यका देउखुरीमा सोमवार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस औपचारिक कार्यक्रम गरेर मनाएको हो । त्यस अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासनयुक्त र भ्रष्टाचारमुक्त लुम्बिनी प्रदेश बनाउने अभियानमा सरकार लागिपरेको बताउनुभयो ।

समृद्ध लुम्बिनी: आत्मनिर्भर प्रदेश को दीर्घकालीन सोंच र सुशासनयुक्त तथा भ्रष्टाचारमुक्त प्रदेश निर्माणको सङ्कल्पलाई पूरा गर्न दृढता व्यक्त गर्नुभयो । सुशासन कायम हुँदा भ्रष्टाचारको मात्रा आफैँ घटेर जाने उहाँले बताउनुभयो ।

प्रदेशको समग्र शासकीय गतिविधिमा सुधार, अनियमितता नियन्त्रण, विधि एवं पद्धति निर्माण, निर्णय निर्माण, निर्देशन प्रवाहका साथै कामकारबाहीलाई सुशासन अभिवृद्धि गर्ने दिशामा योजनाबद्ध रूपले कार्यान्वयन गर्दै लगिएको धारणा मुख्यमन्त्री आचार्यको छ ।

प्रमुख सचिव महादेव पन्थको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख राजेन्द्रकुमार पौडेलले आयोगको कामकारबाही, वर्तमान अवस्था, चुनौती र सदाचारिता प्रवर्द्धनका लागि भएका प्रयासबारे जानकारी गराउनुभएको थियो ।

लुम्बिनीमा बन्यो भ्रष्टाचार विरुद्धको रणनीतिक योजना
लुम्बिनी प्रदेश सरकारले सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरण सम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना, २०८१ तयार पारेको छ । आर्थिक वर्ष २०८१/०८२ देखि २०८५/०८६ सम्म लागु हुने गरी रणनीतिक योजना तयार पारिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौंतिसौं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा आयोगमा दर्ता भएको कूल उजुरी ३६ हजार एक सय ८६ मध्ये लुम्बिनी प्रदेशमा स्थानीय तह र प्रदेश गरी चार हजार ८ सय ९४ भ्रष्टाचारको उजुरी परेको थियो । प्रदेश सरकारले सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि नीतिगत, कानुनी र संस्थागत व्यवस्था एवं कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button