तपाईँ सुन्दै हुनुहुन्छः

भीमदत्त–६ मा आज राति ८ः३० बजेदेखि मत गणना सुरु गरिने

कञ्चनपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा भइरहेको वडाध्यक्षको निर्वाचन अन्तर्गत आज राति ८ः३० बजेदेखि मत गणना कार्य सुरु गरिने मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले बताउनु भएको छ । अहिले साँझ निर्वाचन मण्डल सहित सर्वदलीय, सर्वपक्षीय बैठक बसेर आजै राति ८ः३० बजेदेखि मत गणना कार्य सुरु गर्ने निर्णय गरिएको उहाँले बताउनु भयो ।

शान्ति निकेतन माविमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदान कार्यक्रम अन्तर्गत ५५ दशमलव ०४ प्रतिशत मतदाताले मात्रै मतदान गर्नुभएको छ । कञ्चनपुरका जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार सो वडामा २ हजार ६ सय ६५ जना पुरुष र २ हजार ७ सय ६९ जना महिला गरी कुल ५ हजार ४ सय ३४ जना मतदाता हुनुहुन्छ । ती मध्ये २ हजार ९ सय ९१ जनाले मात्रै मतदान गर्नुभएको छ । 

वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा विभिन्न राजनीतिक दलबाट १० जना र स्वतन्त्र २ जना गरी १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । २०७९ को स्थानीय तह सदस्य निर्वाचनमा भीमदत्त नगरपालिका वडा नं। ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका महेन्द्र बहादुर खड्का निर्वाचित हुनुभएको थियो । गत वर्ष मोटरसाइकल दुर्घटनामा उहाँको देहावसान भएपछि सो वडामा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button