लुम्बिनी प्रदेशमा एमाले-काङ्ग्रेस संयन्त्रको बैठक सम्पन्न
दाङ । लुम्बिनी प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेसको प्रदेश स्तरीय संयन्त्रको बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ ।
एमाले लुम्बिनी प्रदेशका इन्चार्ज पद्मा अर्यालको अध्यक्षतामा बसेको संयन्त्रको बैठकमा प्रदेश सरकारले गरेका कामबारे मुख्यमन्त्री चेतनारायण आचार्यले ब्रिफिङ गर्नुभएको थियो ।
एमाले(कांग्रेस संयुक्त सरकाले अघि सारेका कामहरू सही दिशामा अघि बढेको, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणको पाँच बर्षे रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको मुख्यमन्त्री आचार्यले जानकारी गराउनु भएको थियो । बैठकमा कांग्रेस प्रदेश सभापति अमरसिंह पुन र एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारको कामलाई थप गतिशील बनाउन सुझाव दिनुभएको थियो ।
प्रदेश संयन्त्रको बैठकले लुम्बिनी प्रदेशका १२ जिल्लामा संयन्त्रको बैठक मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने र संयुक्त सरकारलाई थप गतिशील बनाउन सुझावहरू सङ्कलन गर्ने निर्णय गरेको छ । यस्तै मङ्सिर २० गते एमाले(कांग्रेस संयन्त्रको प्रदेश भेलाको आयोजना गर्ने निर्णय गरेको छ । भेलामा काङ्ग्रेसबाट जिल्ला सभापति र सचिव, एमालेबाट जिल्ला इन्चार्ज र अध्यक्ष सहभागी हुनेछन ।
एमाले–कांग्रेस लुम्बिनी प्रदेश संयन्त्रमा एमालेबाट प्रदेश इन्चार्ज पद्मा अर्याल, मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल तथा काँग्रेसबाट संसदीय दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश अध्यक्ष अमरसिंह पुन र बिष्णु खनाल मुस्कान रहनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्