डिएपी मल नपाउँदा किसानलाई हिउँदे बाली लगाउन समस्या
नवलपरासी पश्चिम् । समयमा मल नपाउँदा किसानहरू चिन्तित बनेका छन् । हिउँदे बाली लगाउन व्यस्त रहेका किसानलाई यतिबेला डिएपी मलको अभाव हुँदा उनीहरू चिन्तित बनेका हुन ।अन्य बाली लगाउने समयमा पनि प्राय मलको अभाव यथावतै रहेपनी अहिले हिउँदे खेती लगाउने समयमा नवलपरासीका किसानले डिएपी मलको अभाव झेलिरहेका छन् ।
किसानले अहिले प्रमुख रुपमा गहुँ, तोरी र मकैलगायतका हिउँदे खेती लगाउन सुरु गरेका छन् । खेती लगाउने समयमा डिएपी मल आवश्यक हुन्छ । तर, जिल्लामा डिएपी मलकै हाहाकार भएको छ । डिएपी मलको अभाव भइरहँदा जिल्लामा युरिया मल भने पर्याप्त छ ।
खेतीलाई तत्काल आवश्यक पर्ने डिएपी मल भने आउने छाट देखिएको छैन । कृषि सामग्री कम्पनी लिमिटेड परासीले पालिकाहरूको सिफारिसमा सहकारीमार्फत किसानहरूलाई मल वितरण गर्दै आएको छ ।
चालु वर्षको अहिलेसम्म दुई चरणमा आएको डिएपी मल कम्पनीले वितरण गरिसकेको हो । जिल्लामा वार्षिक न्यूनतम १२ हजार १२५ मेट्रिक टन डिएपी मल आवश्यक हुँदा अहिलेसम्म जम्मा ७६४ दशमलब ४५० मेट्रिक टन (१५ हजार २८९ बोरा) डिएपी मल आएको हो । चालु वर्षको साउन र कात्तिकमा आएको उक्त मल वितरण गरिसकिएको छ । अब मल आउने सम्भावना कम रहेको कृषि सामग्री कम्पनी परासीका प्रमुख नरहरि पोखरेलले बताउनुभयो ।
५० केजीका प्रति बोरा डिएपी मललाई कम्पनीले २ हजार २४४ मा सहकारीलाई बिक्री गर्दै आएको छ । उक्त मललाई ढुवानी खर्चसहित अन्य खर्च जोडेर सहकारीहरूले किसानहरूलाई बिक्री गर्दै आएका छन् ।
यता जिल्लामा डिएपी मल उपलब्ध गराउँदै आएको भैरहवास्थित कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालयका प्रमुख तीर्थराज न्यौपानेले तत्कालै मल आउने सम्भावना नरहेको बताउनु भयो। ‘गहुँ लगाउने समयसम्म मल आउने सम्भावना छैन । तैपनि मङ्सिरको अन्तिम सातासम्म मल आउने जानकारी पाएका छौँ । ’, न्यौपानेले भन्नू भयो ।
किसानहरूलाई डिएपी मलको आवश्यक भइरहेका बेला जिल्लामा भने युरिया मल पर्याप्त छ । अहिले युरिया मल त्यति आवश्यक नहुने भएकाले उक्त मल कृषि सामग्री कम्पनी परासीको गोदाममा थन्किएको छ ।
चालु वर्षको अहिलेसम्म कम्पनीमा २ हजार ९६८ मेट्रिक टन युरिया मल आएको छ । जसमध्ये अहिले १ हजार १६ मेट्रिक टन युरिया कम्पनीको गोदाममै रहेको कृषि सामग्री कम्पनी परासीका प्रमुख पोखरेलले जानकारी दिनुभयो ।
युरिया मल पनि जिल्लाका लागि पर्याप्त होइन । जिल्लामा वार्षिक न्यूनतम १९ हजार ७ सय मेट्रिक टन युरिया र ५ हजार ७२० टन पोटास आवश्यक रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कृषि अधिकृत नवराज घिमिरेले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्