तपाईँ सुन्दै हुनुहुन्छः

संस्कृति जोगाउन देउसी–भैलो खेल्दै थारु र मगर समुदाय

बाँके । आजभोलि देउसी–भैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ । सहर बजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षण भन्दा पनि आधुनिकताका नाममा विकृति–विसङ्गति बढ्दै गएको छ ।

तिहार अर्थात् भाइटिकामा खेलिने देउसी–भैलोमा मौलिकपन हराउन थालेपछि राप्ती सोनारी– ७ का थारु र मगर समुदायका युवा युवतीहरू भने परम्परागत संस्कृति संरक्षणमा लागेका छन् । युवायुवतीहरूले गाउँ–गाउँमा देउसी–भैलोमार्फत मौलिकता जोगाउन सन्देश दिएको छन् ।

ढोलक, बाजा, बिगुल, सहनाई लगायतका विभिन्न वाद्यवादनसहित देउसी–भैलोका नाममा अहिले भित्रिएको विकृतिलाई रोक्न सामूहिक रूपमा देउसी–भैलो अभियानमा लागेको भैलोको नेतृत्व गर्नु भएकी मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका सचिव सरिला घर्ती मगरले बताउनु भयो । उहाँले भन्नुभयो,‘अहिले देउसी–भैलोको मौलिकपन नै भेटिँदैन, संस्कृतिमा पूरै विकृति भित्रिएको छ, पुराना संस्कार, संस्कृति मौलिक रूपमा मनाइनुपर्छ, यस अभियानमा हामी सामूहिक रूपमा जुटेका छौँ ।,’

भागीराम थारुले नयाँ पुस्तामाझ देउसी–भैलोको मौलिक परम्परा नै मेटिसकेको र आधुनिकताले समाजमा विकृति ल्याएको बताउनु भयो । उहाँले भन्नुभयो, पहिला–पहिलाको देउसी–भैलोको तुलनामा हिजोआज धेरै फरक रहेको जिकिर गर्नु भयो । आधुनिकताले परम्परागत संस्कृतिमा विकृति भित्रिएकोमा थारु चिन्तित देख्नु भएको छ ।

बालबालिका, युवा, उमेर ढल्कँदो अवस्थाका व्यक्ति बाजा बजाउँदै देउसी–भैलोमा गाउँ–गाउँमा पुग्दा मौलिकता जोगाउन गरेको यस कार्यमा घरभेटीले खुसी हुँदै दान दक्षिणा दिने गरेको युवा विष्णु थारुको भनाई थियो ।  देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक कार्यमा लगाउने विष्णुले बताउनुभयो । नयाँ पुस्तालाई पुरानो परम्परा, रीतिरिवाजबारे अवगत गराउँदै अर्काको देखासिकी नभई मौलिक रूपमा नै चाडपर्व, संस्कार, संस्कृति मनाउन समाजले देउसी–भैलोमार्फत अनुरोध गरेको छ ।  

मौलिक बाजाको तालमा देउसी–भैलो समूह घर–घरमा आउँदा स्थानीय पनि दङ्ग छन् । मेमोरी कार्ड, क्यासेट गीत, युट्युबबाट हिन्दी, रिमिक्स, पप, आधुनिक, लोकगीतमा देउसी–भैलो खेल्नेको जमात बढ्दो छ । मौलिकता जोगाउन नभई मनोरञ्जनका लागि मात्रै देउसी–भैलो खेल्ने गर्दा परम्परागत संस्कार, संस्कृति लोप हुँदै जान थालेको छ ।

देउसी–भैलोबाट चाडपर्व मनाउने नाममा विकृति विसङ्गति भित्रिन नदिन राप्ती सोनारी ७ निबुवाटारका थारु र मगर समुदायका युवायुवतीले गरेको यस कार्यलाई सबैले सकारात्मक रूपमा लिएका छन् । थारु समुदायको बाहुल्य रहेको निबुवाटारमा मगर, क्रिश्चियन, मुस्लिम र दलित समुदायको बसोबास रहेको  छ । आफ्नो समाजभित्र हुने विभिन्न सामाजिक कार्य, अप्ठ्यारोमा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले भैलो खेल्ने गरेको निरु थारुले बताउनु भयो । उहाँले भन्नुभयो, भैलो मार्फत सामाजिक सद्भावको सन्देश दिनु पनि हाम्रो उद्देश्य रहेको छ । थारुले भन्नुभयो,‘यो पर्वले सामाजिक तथा धार्मिक सद्भाव वृद्धिमा महत्त्वपूर्ण योगदान दिने गरेको छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button