तपाईँ सुन्दै हुनुहुन्छः

संसद्को आउँदो अधिवेशनबाट दलित सशक्तिकरण ऐन ल्याउँछौँ : मुख्यमन्त्री आचार्य

दाङ । सामाजिक न्याय स्थापना गर्न लुम्बिनी प्रदेशमा दलित सशक्तिकरण ऐन निर्माण गरिने भएको छ । प्रदेश सरकारले आगामी हिउँदे अधिवेशनमा दलित सशक्तिकरण विधेयकलाई प्रदेश सभामा लैजाने र पारित गर्ने मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लमहीमा प्रदेश स्तरीय सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले जातीय विभेद र उत्पीडनलाई व्यवहारिक रुपमा उन्मुलन गर्न प्रदेशमा दलित सशक्तिकरण ऐन निर्माण गरेर अघि बढ्ने तयारी गरेको बताउनुभयो । सिमान्तकृत समुदायलाई राज्यको मुल धारमा ल्याउन नीतिगत व्यवस्था र कार्यक्रमहरू अघि बढाएको र अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने उहाँले बताउनुभयो ।

युवा सम्मेलनमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली, प्रदेश सभा सदस्य सुशिला वादी, प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्याल लगायतको सहभागिता रहेको छ । सम्मेलनमा अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका युवामा विद्यालय छाड्ने दर धेरै भएकाले विशेष छात्रवृत्ति कार्यक्रमको व्यवस्था गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने लगायतका सवाल उठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button