तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाको अर्को बैठक साउन ३१ गते बस्ने

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उक्त विधेयक लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यस्तै आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा २ बमोजिम बाधा अड्काउ फुकाऊ आदेश पेस भएको छ ।

सभामा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको बाधा अड्काउ फुकाऊ आदेश सभा समक्ष पेश गर्नुभयो ।

यसअघि बैठकमा सांसदहरुले नेपालका स्वास्थ्य क्षेत्रमा काम गर्ने नर्स लगायतका कर्मचारीहरूको स्तरवृद्धि नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले नर्सहरूले लामो समयसम्म सेवा गर्दा पनि स्तरवृद्धि नभएको, रात्रिकालीन सेवा गर्दा भत्ता रकम अत्यन्तै न्युन भएको भन्दै नर्सहरूको मनोबल बढाउन दुर्गममा कार्यरतसँगै उहाँहरूको शैक्षिक योग्यतालाई पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसदहरुले सामाजिक न्याय र सुशासन, पुँजीगत खर्चको वृद्धि, दायरा बढाएर राजस्व बढाउन सके मात्र समृद्धि प्राप्त हुने भन्दै संविधान कार्यान्वयन गर्दा पुराना ऐनको संशोधन गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक साउन ३१ गते बिहीबार दिनको १ः१५ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button