तपाईँ सुन्दै हुनुहुन्छः

बढ्‌दो गर्मीसँगै बाँकेका अस्पताल र स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप  

बाँके । अत्यधिक बढ्‌दो गर्मीसँगै बाँकेका अस्पताल र स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढेको छ । दैनिकजसो ओपिडीमा आउने बिरामीको सङ्ख्या दिनहुँ बढिरहेको अस्पतालहरूले जनाएका छन् । धेरैजस्तो बिरामीहरूलाई हट स्टोक समेत देखिएको बताइन्छ ।

केही समय यता पश्चिम तराईमा बढेको गर्मीसँगे अस्पतालहरूमा बिरामीको चाप बढ्दै जान थालेको छ। नेपालगन्जस्थित भेरी अस्पताल, नर्सिङ होम, मेडिकल कलेज कोहलपुर लगायतका अस्पतालमा बिरामीको चाप बढेको हो। ज्वरो आउने, पेट दुख्ने, झाडापखालालगायतका लक्षण देखिएका बिरामीहरू बढिरहेको भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले जानकारी दिनुभयो।

भेरी अस्पतालको ओपिडीमा सरदर दैनिक दुई सय जना बिरामीको उपचार हुन्थ्यो । अहिले त्यो सङ्ख्या बढेर तिन सय बढी पुग्ने गरेको छ। बिरामीको चाप बढेसँगे भेरी अस्पतालमा बिरामीहरूलाई बेड पाउन समस्या भइरहेको छ। डा. रिसालले बताउनु भयो ।उहाँले अस्पतालमा आपतकालीन कक्ष, आइसियु, मेडिसिन कक्षका सबै बेडहरूमा बिरामी रहेको बताउनु भयो। ‘भेरीमा बिरामीको चाप यस्तो छ कि आपतकालीन कक्ष, आइसियु, मेडिसिन कक्षका सबै बेडहरू भरिएका छन्’ उहाँले भन्नुभयो, ‘अन्य बेला यस्तो हुँदैनथ्यो । ‘नयाँ बिरामी आए उपचारमा समस्या छ’

चर्को गर्मीपश्चात् पानी परेमा अस्पतालमा अझै बिरामीहरूको चाप बढ्ने डा. रिसालले जानकारी दिनुभयो। उहाँका अनुसार पानी परेमा ज्वरो आउने र सर्पले टोकेका बिरामीहरूको चाप धेरै हुनेछ।यतिबेला तापक्रम उच्च छ।’लूले शरीरमा जलन उत्पन्न गर्दा स्वास्थ्यमा प्रतिकूल असरको प्रभाव देखिइरहेको छ। हात खुट्टा दुख्ने, थकान महसुस हुने, बेहोस हुने, वान्ता हुने, पखाला लाग्ने बिरामीका साझा समस्या देखिनुले ‘लू’को प्रभाव भएको उपचारमा सङ्लग्न चिकित्सकहरू बताउँछन् ।

यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा समेत ओपिडी उपचार गराउन आउने बिरामीहरूको चाप उच्च रहेको छ। केही दिन अघिसम्म अस्पतालमा हट स्टोकुका बिरामीहरू समेत उपचारका लागि आएको अस्पतालका सूचना अधिकारी सन्जु पन्तले जानकारी दिनुभयो ।

बढी गर्मीका कारण थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुख्ने, वाकवाकी लाग्ने, हात गोडा बाउँडिने, हात गोडा वा अनुहार सुन्निने र बेहोस हुने, मुटुको धड्कन बढ्न सक्ने बाँकेका चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार छाला सुक्खा र रातो हुने, पिसाबको रङ पहेँलो हुने, सास फेर्न गाह्रो हुने र रक्तचाप कम हुने, १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आई बिरामी बेहोस हुने वा कोमाको लक्षण देखिन सक्छ ।

अहिले जिल्लाको तापक्रम ४०/४१ डिग्री रहेको छ । डा. रिसालले सर्वसाधारणलाई सफा उमालेको पानी प्रशस्त पिउन, नियमित झोलिलो पदार्थ सेवन गर्न, धूम्रपान र मद्यपान नगर्न, फलफूल र हरियो साग सब्जी खान, काँचो खानेकुरा नखान, दिउँसोको चर्को घाममा घर बाहिर ननिस्कन सबैलाई आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button