तपाईँ सुन्दै हुनुहुन्छः

अन्नपूर्ण आधार शिविरमा म्याराथन हुने

कास्की । जेठ १७ देखि २० गतेसम्म अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिको संयुक्त आयोजनमा अन्नपूर्ण गाउँपालिका १० मा म्याराथन हुन लागेको हो ।

तेस्रो अन्नपूर्ण म्याराथनबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत कार्यक्रमको जानकारी दिइएको थियो । कार्यक्रमका संयोजक ललित गुरुङले वि.स २०७४ मा सुरु भएर दोस्रो संस्करण सफल भए पनि कोभिड—१९ ले तेस्रो संस्करणलाई निरन्तरता दिन नसकेको उहाँले बताउनुभयो ।

अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रूपमा विकास गर्न यसै वर्षदेखि अल्टिमेट एडभान्चरको पनि सहयोग र म्याराथनमा यस वर्षदेखि अन्तर्राष्ट्रिय धावकहरूको समेत सहभागिता रहने जनाइएको छ ।

अन्नपूर्ण आधार शिविरबाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउल, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा समापन हुने छ ।

म्याराथनमा सहभागी हुन पुरुष प्रतियोगीलाई ७ हजार र महिला प्रतियोगीलाई ५ हजार शुल्क लाग्ने छ । म्याराथनमा पुरुषतर्फ प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ७५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

यस्तै महिलातर्फ प्रथम हुनेलाई ७५ हजार, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

म्याराथन धावकहरूले जेठ १५ गतेभित्र नाम दर्ता गराएर १८ गते म्याराथन आरम्भ बिन्दुबाट प्रस्थान गरी अन्नपूर्ण आधार शिविर पुगेर आयोजकको सम्पर्कमा आउनुपर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button