तपाईँ सुन्दै हुनुहुन्छः

विकाससँगै वन–जङ्गल जोगाउन आवश्यक: मन्त्री यादव

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकास सँगसँगै वन–जङ्गल जोगाउन आवश्यक रहेको बताउनुभएको छ ।

file photo

आज ॐ हरहर आदि शक्ति परिवारको प्रथम वार्षिकोत्सवमा उहाँले आफू बाँच्नका लागि भए पनि रुख रोप्नुपर्ने तथा वन–जङ्गल जोगाउन आवश्यक रहेको बताउनुभयो । मन्त्री यादवले वन तथा वातावरण मन्त्रालयका कर्मचारीसहित आम नेपाली दाजुभाइ, दिदीबहिनीका कारण नेपालको वन–जङ्गल जोगिँदै गएको बताउनुभयो ।

सम्पूर्ण सङ्घसंस्था तथा नागरिकले वन–जङ्गल जोगाएका कारण अहिले नेपालमा करिब ४५ प्रतिशतभन्दा बढी वन क्षेत्र बढेको समेत मन्त्री यादवले जानकारी दिनुभयो । वन–जङ्गल, मठमन्दिर, धार्मिक क्षेत्र, कला संस्कृति जोगाउनका लागि ॐ हरहर आदि शक्ति परिवारको उल्लेख्य भूमिका रहेको भन्दै मन्त्री यादवले उक्त संस्थालाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो । मन्त्री यादवले पछिल्लो समय नेपालसहित विभिन्न मुलुकमा जलवायु परिवर्तनका कारण विभिन्न घटना बढ्दै गएकाले जलवायुका क्षेत्रमा सबै क्षेत्र तह तप्काबाट लाग्नुपर्ने बताउनुभयो ।

वातावरण नजोगिएको खण्डमा नागरिकलाई असहज हुनुका साथै दुःखद घटना घट्ने देखिएकाले हामीले कसरी वातावरण तथा वन जङ्गल जोगाउन लाग्ने सो विषयमा आम नागरिकलाई गम्भीर भएर लाग्नसमेत मन्त्री यादवले आग्रह गर्नुभयो । वातावरणमा असर पर्ने गरी आफूले कुनै पनि क्षेत्रमा रुख काट्नका लागि अनुमति नदिने मन्त्री यादवले प्रतिबद्धता जनाउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button