‘याक फेस्टिभल’ (फोटो फिचर)

पाँचथर । नेपालका तीन जिल्लामा मात्र हुने चौँरी महोत्सव ( याक फेस्टिभल) पाँचथरको फालेलुङ गाउँपालिकामा सञ्चालन भइरहेको छ । चौँरी महोत्सव नेपालका ३ जिल्ला पाँचथर दोलखा र रसुवामा मात्र हुने गरेको छ । यो महोत्सव चैत ३० देखि सुरु भएको हो । महोत्सव वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ । चौँरीको खोज अनुसन्धान गर्नको लागी अमेरिकाबाट आएकी मार्टिनका अनुसार एसियाकै कम स्थानमा मात्रै चौँरी पाइने गर्दछ ।

पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाल र भारतको सिमाना फालेलुङ गाउँपालिका वडा नम्बर ४ चाररातेमा पाँचौँ चौँरी महोत्सव भइरहेको हो । महोत्सवमा ५ सय चौँरी तथा याकको प्रजातिहरूको प्रदर्शनी, भुटानबाट नश्ल सुधारको लागी ल्याइएको याकको प्रदर्शनी, चौँरीबाट उत्पादित वस्तुहरूको प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी रहेको छ ।

महोत्सवमा फालेलुङ क्षेत्रमा पाइने जडीबुटीहरू , स्थानीय संस्कार संस्कृति झल्कने परिकारहरू, भेडाको उनबाट निर्मित सामाग्रीहरूको बिक्री, गोठस्टेको अनुभव , उत्कृष्ट चौँरी पालक कृषक सम्मान, पुरुष फुटबल प्रतियोगिता, नृत्य प्रतियोगिता लगायत कार्यक्रमहरुको आकर्षण छ ।

महोत्सव कञ्चनजंघा भू– परिधि संरक्षण तथा विकास पहल नेपालको प्रवर्धनमा फालेलुङ कञ्चनजङ्घा पर्या पर्यटन प्रवर्धन संस्था, दिपज्योती युवा क्लब र कञ्चनजङ्घा चौँरी पालन तथा संरक्षण संस्थाले आयोजना गरेका हुन् ।

नेपाल– भारत सीमा क्षेत्रमा पर्ने चारराते प्रचुर सम्भावना युक्त प्रसिद्ध पर्यटकीय गन्तव्य हो । यस क्षेत्रमा वर्षको ४ महिना हिउँले ढाक्ने गर्दछ । यस ठाउँमा २८ प्रजातिका गुराँसहरू पाइन्छन् । दर्जन भन्दा बढी विभिन्न प्रकारका जडीबुटी पाइने यस ठाउँको विशेषता हो । महोत्सवमा नेपाल, भारत तथा भुटानका पर्यटकहरू आएका छन् । महोत्सव २०७४ सालदेखि हरेक वर्ष हुँदै आएको छ । २०७७ सालमा कोभिडका कारण यो महोत्सव रोकिएको थियो ।










प्रतिक्रिया राख्नुहोस्