कांग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक हो : सह महामन्त्री डा महत
काठमाडौँ । नेपाली काँग्रेसका सह महामन्त्री डा.प्रकाश शरण महतले कांग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक भएको बताउनुभएको छ ।
पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै डा महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्नका लागि काँग्रेसले अग्रसरता लिनुपर्ने बताउनुभएको हो । “लोकतान्त्रिक मूल्य मान्यतालाई काँग्रेसले जीवनपद्धतिका रुपमा अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।
सह महामन्त्री डा महतले जनताको हक अधिकारका लागि लडेको पार्टीको १४औँ महाधिवेशनले नयाँ ऊर्जा काँग्रेसलाई दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीभित्र भएको कमी कमजोरीलाई सच्चाएर अगाडि बढाउनुपर्ने बताउनुभयो ।
अर्को सह महामन्त्री सुनिलबहादुर थापाले समृद्ध नेपाल काँग्रेसको नेतृत्वमा मात्र सम्भव भएकाले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेस प्रवेश गरेको बताउनुभयो । “काँग्रेसको चार तारे झण्डामुनी बसेर समाजवाद खोज्न म कांग्रेस भएको हुँ”, उहाँले भन्नुभयो ।
उहाँले मुलुकमा हुन लागेको तीनै तहको निर्वाचनमा काँग्रेसलाई सुविधाजनक बहुमत दिलाउनका लागि सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । राजधानी काठमाडौँबाट फर्के लगत्तै गाउँ गाउँमा पुगेर कांग्रेस बलियो बनाउन सबै लाग्नुपर्ने उहाँको भनाइ थियो । रासस
प्रतिक्रिया राख्नुहोस्