तपाईँ सुन्दै हुनुहुन्छः

दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु

दमौली। तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु गरिएको छ । अस्पतालमा निर्माण सम्पन्न भएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरिएको हो ।

कोरोना सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको रकमबाट अक्सिजन प्लाण्ट निर्माण गरी अक्सिजन उत्पादन सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ तेस्रो साताबाट अक्सिजन उत्पादन सुरु गरिएको छ ।

प्लान्टबाट उत्पादित अक्सिजन पाइपलाइनमार्फत शय्यामा जडान गरिएको छ । “प्रत्येक शय्यामा अक्सिजन पुग्ने गरी पाइपलाइन विस्तार गरिएको छ”, उहाँले भन्नुभयो, “अस्पतालमै अक्सिजन उत्पादन सुरु भएपछि बाहिरबाट ल्याउनुपर्ने समस्याको अन्त्य भयो ।”

रु ७५ लाख बजेट प्राप्त भएकामा टेन्डर मार्फत रु ५५ लाखमा अक्सिजन प्लाण्ट निर्माण सम्पन्न भएको अस्पतालले जनाएको छ । प्लाण्ट निर्माणका लागि अस्पतालले जय शङ्कर प्रालिसँग सम्झौता गरेको थियो । कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा कोभिड कक्ष पनि बनाइएको छ । अस्पतालले महामारीका बेला कोरोना सङ्क्रमितको उपचार गरेको थियो । हाल भने अस्पतालमा कोरोना सङ्क्रमित छैनन् ।

अस्पतालले आइसियु र भेन्टिलेटरसमेत सुरुआत गरिसकेको छ । अस्पतालले स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा आइसियु र भेन्टिलेटर शय्याको व्यवस्थापन गरेको थियो । यसअघि अस्पतालमा सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौँ पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासी लाई आर्थिक भारसमेत पर्दै आइरहेको थियो ।

पछिल्लो समय अस्पतालले विभिन्न सेवा थप गर्दै लगेको छ । अस्पताललाई व्यवस्थित एवं अत्याधुनिक बनाउने प्रयासस्वरुप थाइराइड, आँखा र दाँत उपचार सेवा सुरु भइसकेको छ । सो अस्पतालबाटै थाइराइड सेवा सुरु भएपछि सर्वसाधारणलाई यसको उपचारका लागि महँगो शुल्क तिरेर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button