सडक हिलाम्मे हुँदा आवतजावतमा सास्ती

राँझा। नेपालगन्ज–गुलरिया हुलाकी सडकअन्तर्गत बाँकेको मानपुर खण्ड हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ ।
जानकी गाउँपालिका–३ मानपुरमा पर्ने उक्त सडकमा पानी जमेर हिलाम्मे हुँदा साना सवारी साधन र नागरिकलाई आवतजावतमा कठिनाइ भएको छ । उक्त स्थानमा दुर्घटनाको जोखिम बढेको स्थानीय अब्बाद अहमद सिद्धिकीले बताउनुभयो । उहाँका अनुसार हिलाम्मे सडकमा साना दुई पाङ्ग्रे सवारी दैनिक रूपमा दुर्घटना हुने गरेका छन् । नेपालगन्ज–गुलरिया मुख्य सडकमै महिना दिनदेखि यो समस्या भए पनि सरोकारवाला निकायले समाधानका लागि चासो दिएका छैनन् ।
मानपुर मोडमा पानी निकासका लागि नाली नहुँदा सडकमा पानी जमेको हो । निरन्तरको वर्षाका कारण उक्त खण्डको ३० मिटर सडक पानीले डुबेको छ । मोडमै रहेको घर भत्काएपछि फराकिलो बनेको सडकमै पानी जमेका कारण सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ ।
सडकमा पानी जमेर हिलाम्मे भएपछि तत्कालका लागि आवतजावतमा सहज बनाउन गाउँपालिकाबाट ग्राभेल हालेर मर्मत गर्ने प्रयास गरिए पनि पानीको निकास नभएकाले समस्या समाधान हुन नसकेको जानकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो ।
“तत्काल आवतजावत सहज बनाउनका लागि ग्राभेल हालिएको छ । दीर्घकालीन समस्या निकासका लागि सडक विभागसँग दुवै साइडमा पानी निकासका लागि सानो नाली बनाउने पहल भइरहेको छ”, धितालले भन्नुभयो, “समस्या समाधानका लागि आवश्यक सहयोग र समन्वय गर्न गाउँपालिका कार्यालय तयार छ ।”
नेपालगन्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउने योजना अगाडि बढे पनि यो वर्ष भने सर्वसाधारणले कठिनाइ व्यहोर्नुपर्ने भएको छ । नेपालगन्जदेखि बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक नै विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुरा बजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउने काम भइरहेको छ ।
यो आर्थिक वर्षमा नेपालगन्जको धम्बोझीबाट मैनापोखरसम्म चार लेन सडक विस्तारका लागि डिपिआर तयार भइसकेको छ । धम्बोझीबाट मैनापोखरसम्मको २० किलोमिटर चार लेन सडक निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई कार्यान्वयनका लागि पहिलो चरणमा सडक विभागले रु १३ करोड बजेट छुटाइसकेको सडक डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख हुमबहादुर एसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालगन्ज–गुलरिया हुलाकी सडकअन्तर्गत नेपालगन्जको धम्बोझीचोकबाट बर्दियाको बढैयाताल गाउँपालिकाको मैनापोखरसम्म चार लेन सडक बनाउने निर्णय भएको छ । चारलेन सडक निर्माण योजना बहु वर्षीय हो । योजना कार्यान्वयनसँगै अहिले हिलाम्मे भएको मानपुर खण्डको समस्या पनि समाधान हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्