तपाईँ सुन्दै हुनुहुन्छः

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा छाला सम्बन्धी रोगको सङ्क्रमण फैलिँदै

कञ्चनपुर । कञ्चनपुर जिल्ला कारागारका कैदीबन्दीलाई छालासम्बन्धी रोग देखापरेको  छ । 

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा अधिकांशमा छाला सम्बन्धी दाद र लुतो लगायतको रोग देखापरेको हो ।

त्यस्ता रोगी कैदीबन्दीको सङ्ख्या १ सय ५० भन्दा बढी रहेको जेलर मायाकुमारी थापा बस्नेतले बताउनुभयो । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएको र सबै जनालाई एकै ठाउँमा राख्दा कैदीबन्दीले व्यक्तिगत सरसफाइ गर्न नपाउँदा छाला सम्बन्धी रोग फैलिएको हुनसक्ने उहाँको भनाई छ ।

“कैदीबन्दीको सङ्ख्या उच्च हुँदा कारागारमा खुट्टा राख्ने ठाउँसमेत छैन । सुत्ने ठाउँका अभावमा धेरैले पालो पर्खनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । 

कारागारमा एक जना स्वास्थ्यकर्मीसमेत कार्यरत नहुँदा प्राथमिक उपचार गर्ने बाहेक अन्य कैदीबन्दीको स्वास्थ्यमा समस्या आउँदा महाकाली प्रादेशिक अस्पताल लैजानुपर्ने पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । जेलर थापा बस्नेतले धेरैमा छालासम्बन्धी रोग देखिएपछि कैदीबन्दीलाई कारागारमै स्वास्थ्य शिविरको आयोजना गरी उपचारको व्यवस्था मिलाइदिन सम्बन्धित निकायलाई आग्रह समेत गर्नुभएको छ । 

कारागारमा ७५ पुरुष र २० महिलालाई राख्ने क्षमता भए पनि हाल ४ सय ६ जना पुरुष र २५ जना महिला रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button