जामुमा नगर कोभिड अस्पताल सञ्चालन

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको जामुमा नगर कोभिड अस्पताल सञ्चालनमा आएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा निर्मित १५ शय्याको अस्पताल विधिवत रुपमा सञ्चालनमा आएको हो ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाले एक औपचारिक कार्यक्रमका बीच मङ्गलवार पञ्चपुरी–१०, जामुमा कोभिड अस्पतालको उद्घाटन गर्नु भएको छ । उहाँले कर्णाली प्रदेश प्रवेशका लागि पश्चिम सुर्खेत तर्फको मुख्यनाका कुइनेबाट आउने नागरिकको चेकजाँचसँगै कोरोना सङ्क्रमितको उपचारमा समेत सहजता पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

‘पश्चिम सुर्खेतलगायत अछाम, पश्चिम दैलेख, कालिकोट, र बाजुराका नागरिकको पैदल मार्गका रुपमा रहेको मुख्य नाका कुइनेमा कोरोना विशेष अस्पताल सञ्चालनमा आएसँगै अब उपचार तथा परामर्शका लागि मद्दत पुग्नेछ,’ उहाँले भन्नु भयो, ‘अस्पतालमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा सञ्चालनमा आएसँगै चेकजाँचसँगै उपचारका लागि तत्काल बाहिर जानुपर्ने बाध्यता हटेर जानेछ ।’
उहाँले यसअघि पञ्चपुरीकै सालकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट समेत महिनाको दुई दिन विशेषज्ञ डाक्टरसहितको घुम्ती स्वास्थ्य सेवा शुरु गरी सकिएको जानकारी दिनु भयो ।

यता पञ्चपुरीका नगरपालिकाका नगरप्रमुख उपेन्द्रबहादुर थापाले जामुमा कोभिड अस्पताल सञ्चालनमा आए पनि अस्पतालको कम्पाउन्ड घेरबार तथा स्तरोन्नतिका लागि प्रदेश सरकारले थप ध्यान दिनु पर्ने औँल्याउनु भयो । नगर कोभिड अस्पतालमै प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीलगायतको पहलमा टेलिमेडिसिन सेवा समेत सञ्चालनमा ल्याइने भएको छ ।
स्वास्थ्य जनशक्ति तथा पूर्वाधारको समस्या झेल्दै आएको पश्चिम सुर्खेतमा इन्टरनेट र टेलिफोनको माध्यमबाट (भर्चुअल) वैकल्पिक चिकित्सकीय सेवाबाट नागरिकलाई राहत नै पुग्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्