आउनुहोस् एकजुट भएर काम गरौँ : एमाले अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीका नेताहरूलाई एकताका लागि आग्रह गर्नुहुँदै एकजुट भएर अगाडि बढ्न अपिल गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसमा नेकपा एमालेद्वारा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनले धेरै ठुलो क्षति बेहोरेकाले सबै कम्युनिष्ट पार्टीहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले एमालेका वरिष्ठ नेता माधव नेपाल समूहलाई सङ्केत गर्नुहुँदै एमाले पार्टी एक बनाएर फेरि पनि अगाडि बढ्नुपर्ने र हिजो पनि एकताबद्ध एमालेले जितेको र भोलि पनि जित्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले पुष्पलाल श्रेष्ठले रोप्नुभएको बिरुवा मदन भण्डारीले स्याहार सुसार गरेर यहाँसम्म ल्याउनुभएकोले सानोतिनो हावाले नभाँचिने भन्नुहुँदै नेपालको लोकतान्त्रिक आन्दोलन जननेता भण्डारीको विचारबाट प्रशिक्षित भएको चर्चा गर्नुभयो ।
पुष्पलाललाई बाहिरभन्दा पनि आफ्नै भित्रबाट घेराबन्दी गरेको स्मरण गर्नुहुँदै अध्यक्ष ओलीले आफूलाई पनि सरकार गठन भएकै दिनदेखि हटाउने प्रयास गरेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्