तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा सभापति लामिछानेद्वारा दैलेखको पेट्रोलियम अन्वेषण स्थलको अवलोकन

दैलेख।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण स्थलको अवलोकन गर्नुभएको छ।

प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन कर्णाली पुग्नुभएका सभापति लामिछानेले शनिबार साँझ भैरवी गाउँपालिका–१, जलजलेस्थित पेट्रोलियम पदार्थ अन्वेषण स्थलको अवलोकन गर्नुभएको हो।

अवलोकनका क्रममा उहाँले लामो समयदेखि अधुरो रहेको पेट्रोलियम पदार्थ अन्वेषणको कामलाई अघि बढाउन पहल गर्ने बताउनुभयो। कर्णालीको विकास र समृद्धि रास्वपाको प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले पार्टी सरकारमा रहँदासम्म यस क्षेत्रको विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

काठमाडौँ फर्किएपछि सम्बन्धित मन्त्रालय, विभाग र निकायसँग छलफल गर्ने बताउँदै सभापति लामिछानेले दैलेखको पेट्रोलियम अन्वेषण तथा उत्खननको विषयलाई उच्च प्राथमिकतामा राख्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले राष्ट्रिय गौरवको यस आयोजनाले कर्णाली प्रदेश मात्र नभई समग्र देशको आर्थिक समृद्धिमा समेत योगदान पुर्‍याउने बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button