पोखरामा दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिता शनिबारदेखि हुने, ७० गल्फर सहभागी हुने

पोखरा । पर्यटकीय नगरी पोखरामा दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिता २०८३ आयोजना हुने भएको छ । हिमालयन गल्फ कोर्ष र हिमालयन स्पोर्टस् म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा यही मङ्सिर ५ र ६ गते पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा उक्त प्रतियोगिता सञ्चालन हुने भएको आज (बिहीबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रतियोगितामा नेपालसहित अमेरिका र बेलायतबाट गरी करिब ७० जना महिला तथा पुरुष गल्फरको सहभागिता रहने अपेक्षा गरिएको प्रतियोगिताका परिकल्पनाकार ओलम्पियन नारायण गुरुङले बताउनु भयो । प्रतियोगितामा अमेरिकाबाट १५ जना, बेलायतबाट १० जना तथा पोखरा, काठमाडौँ, धरान र बुटवल लगायतका सहरबाट गल्फरहरू सहभागी हुने उहाँले जनाउनु भयो । प्रतियोगिता अन्तर्गत विभिन्न विधामा आकर्षक नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । १० ग्रसतर्फका विजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै, डिभिजन ‘ए’ (१–५ ह्यान्डिक्याप), डिभिजन ‘बी’ (१०–१४ ह्यान्डिक्याप) र डिभिजन ‘सी’ (१४–१८ ह्यान्डिक्याप) का विजेताले जनही २० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्।
महिलातर्फको विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी पाउनेछन्। ६० वर्षमाथिका सिनियर विजेतालाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । यसैगरी, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिनलगायतका विधामा समेत पाँच हजार रुपैयाँ र ट्रफी पुरस्कार राखिएको छ । प्रतियोगिताको विशेष आकर्षणका रूपमा चौथो होलमा होल इन वान गर्ने खेलाडीलाई काल्सबर्गद्वारा ५० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । त्यस्तै, १८औँ होलमा दोस्रो सटमा क्लोजेस्ट टु द पिन हुने खेलाडी र लङ्गेस्ट ड्राइभका विजेतालाई पनि पाँच हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । विशेषगरी विदेशमा रहेका नेपाली (एनआरएन) गल्फरहरूको सहभागिताले प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको मैत्रीपूर्ण भेटघाट र खेल आदानप्रदानको अवसरका रूपमा समेत विकास गर्ने आफूहरूले विश्वास गरेको परिकल्पनाकार गुरुङले जनाउनु भयो ।
गल्फ खेलको सम्भावना उजागर गर्दै खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिँदै आएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी, हिमालयन गल्फ कोर्षका म्यानेजर भुवन गुरुङले प्रतियोगिताले पोखरामा गल्फ खेलको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वदेशी तथा विदेशी गल्फरको सहभागिताले पोखरालाई गल्फ पर्यटनको गन्तव्यका रूपमा थप चिनाउन सहयोग पुग्ने बताउनुभयो । हिमालयन गल्फ कोर्ष विश्वका उत्कृष्ट तथा चुनौतीपूर्ण गल्फ कोर्षहरूमध्ये एक रहेको काशी घलेले बताउनुभयो ।
प्रतियोगिता स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप फर्म्याटमा सञ्चालन हुनेछ । शुक्रबार गल्फरहरूले कोर्ष वार्मअप गर्नेछन् भने शनिबार र आइतबार प्रतियोगितात्मक खेल हुनेछ । पार ७० को कोर्षमा प्रत्येक खेलाडीले दुई दिनमा कुल ३६ होल खेल्नेछन् । दुवै दिनको खेलको नतिजाका आधारमा विजेता घोषणा गरिने आयोजकले जनाएको छ । नेप्लिज डायस्पोरा स्पोर्टस् एण्ड कल्चर क्लब अमेरिका प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ भने गोर्खा ब्रुअरी सहप्रायोजकका रूपमा रहेको छ । प्रतियोगितालाई कास्की जिल्ला गल्फ संघ तथा गण्डकी प्रदेश गल्फ सङ्घको सहयोग रहनेछ ।








प्रतिक्रिया राख्नुहोस्