तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ (स्याङ्जा)।जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । बिक्रीका लागि जुम्लाबाट ल्याइएको स्याउ स्याङ्जाका विभिन्न टोलटोलमा उपलब्ध भएकाले यहाँका उपभोक्ताको रोजाइमा परेको हो ।

बजारमा पाइने विदेशी स्याउभन्दा सस्तो, स्वच्छ, स्वादिलो र स्वदेशी उत्पादन भएकाले पनि उपभोक्ता खुसी भएका छन् । गाडीमार्फत टोलटोलमा स्याउ पुर्याउँदा उपभोक्ताले निकै उत्साहकासाथ खरिद गर्ने गरेको व्यावसायी गौरीलाल सञ्ज्यालले बताउनुभयो ।

सञ्ज्यालसहितको टोलीले जुम्लामा उत्पादन भएको स्याउ ट्रकमार्फत जुम्लाबाट पोखरा ल्याउने र त्यहाँबाट पोखरा आसपासका स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत, पाल्पालगायतका जिल्लामा जिपमार्फत टोलटोलमा लगेर बिक्री गर्दै आउनुभएको छ ।

“जुम्लामा उत्पादन भएको स्याउ बजारसम्म पुर्याउन नसक्दा त्यसै कुहिएर जाने समस्या थियो”, उहाँले भन्नुभयो, “स्वदेशी उत्पादनको बजारीकरणसाथै यसको प्रचारप्रसार गर्दै बजार विस्तार गर्ने क्रममा उपभोक्ताको घरदैलोमा पुर्याउन थालेका हौँ ।”

उपभोक्ताले आफ्नै घरदैलोमा प्रतिकेजी रु १५० का दरले स्याउ रोजेर खरिद गर्न पाउँदा दैनिक सयौँ पेटी स्याउ बिक्री हुने गरेको उहाँले बताउनुभयो । एकपटक किन्नुभएका उपभोक्ताले सम्पर्क गरेरै पनि माग गर्ने भएकाले बजार विस्तार हुँदै गएको उहाँले बताउनुभयो ।

“एकपटक जुम्लाको स्याउ किनेर खाएपछि पुनः दोस्रो, तेस्रोपटक पनि खोज्नु पक्कै पनि राम्रो भएरै हो”, उहाँले भन्नुभयो, “बजारमा पाइने स्याउभन्दा सस्तो, विषादीरहित, रङरोगनको प्रयोग नगरिएको अग्र्यानिक भएकाले पनि यो स्याउ उपभोक्ताको रोजाइमा पर्न सफल भएको छ ।”

घरदैलोमा स्याउ पाउँदा एकातर्फ उपभोक्ताले सस्तो मूल्यमा स्याउ पाएका छन् भने अर्कातर्फ व्यावसायी तथा किसानले प्रत्यक्ष रूपमा नगद प्राप्त गरेका छन् । स्याउका कार्टुनले भरिएका गाडीमार्फत समयसमयमा टोलटोलमा पुगेर घुम्ती व्यापार हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button