तनहुँको आँबुखैरेनीमा छ किसानद्वारा पाँच रोपनीमा व्यावसायिक सयपत्री फूलखेती सुरु
दमौली (तनहुँ)। तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसान मिलेर पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन् । तिहारमा स्थानीय फूलको माग पूरा गर्ने र आम्दानी गर्ने उद्देश्यले उनीहरूले पाँच रोपनी क्षेत्रफलमा सयपत्री लगाएका हुन् ।
स्थानीय किसानको सामूहिक प्रयासमा सुरु गरिएको फूलखेतीमा आठ हजार सयपत्रीका बिरुवा रोपिएको छ । तिहार नजिकिँदै गर्दा फूल फुल्ने र बजारमा बिक्री हुने अपेक्षासहित किसान खेतीको हेरचाहमा जुटेका छन् ।
फूलखेतीमा संलग्न स्थानीय मैना राना आलेले तिहारमा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । चाडपर्वका बेला फूलको माग बढ्ने भएकाले स्थानीयस्तरमै सयपत्री उत्पादन गरेर बजारको माग पूरा गर्न सकिने उहाँको विश्वास छ ।
उहाँले तिहारमा पूजाआजा तथा घर सजावटका लागि प्रयोग हुने फूल स्थानीय किसानबाटै खरिद गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय फूलको प्रयोग बढाउन सके किसानलाई आम्दानीको अवसर मिल्नुका साथै बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता कम गर्न सकिने उहाँको भनाइ छ ।
फूलखेतीमा संलग्न किसान सीता श्रेष्ठले आँबुखैरेनी गाउँपालिकाले फूलखेतीका लागि प्रोत्साहन गरेपछि आफूहरू यसतर्फ आकर्षित भएको बताउनुभयो । तिहार नजिकिँदै गएकाले उत्पादनले बजार पाउनेमा आफूहरू विश्वस्त रहेको उहाँले बताउनुभयो ।
गाउँपालिकाले स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गर्न प्रोत्साहन गर्दै आएको छ । गाउँपालिकाको कृषि शाखाका प्रमुख सन्तोष केसीका अनुसार सयपत्री फूलको बजार सम्भावना रहेकाले कृषक यस खेतीतर्फ आकर्षित भएका हुन् ।
तिहारका बेला सयपत्री फूलको माग बढ्ने भएकाले स्थानीयस्तरमा उत्पादन विस्तार गर्नसके किसानले आम्दानीको अवसर पाउने कृषि शाखा प्रमुख केसीको भनाइ छ । पाँच रोपनी क्षेत्रफलमा आठ हजार बिरुवा रोपेर सुरु गरिएको खेती सफल भएमा आगामी दिनमा फूलखेती विस्तार गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्