सल्यानमा दसैँका लागि घर फर्किनेको चाप बढ्यो, चार स्थानमा यात्रु सहायता कक्ष स्थापना

सल्यान । दसैँ भित्रिएसँगै सल्यान भित्रिने नागरिकको संख्या बढेको छ ।
अध्ययन, रोजगारी तथा व्यवसायका सिलसिलामा काठमाडौँलगायत देशका विभिन्न सहरमा रहेका नागरिक दसैँ मनाउन आफ्नो गाउँघर फर्किने क्रम तीव्र बनेको छ ।
दसैँको समयमा सल्यानको खैराबाङ मन्दिरमा दर्शन गर्न आउने श्रद्धालुको संख्या बढेकाले राप्ती राजमार्गलगायत जिल्लाका अन्य सडकमा सवारी साधनको चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख जयराम घर्तीले बताउनुभयो ।
सवारी साधन र यात्रुको चाप बढेसँगै प्रहरीले सडक सुरक्षासम्बन्धी सचेतना तथा चेकजाँचलाई प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो । यात्रुहरूको सुरक्षित यात्रा सुनिश्चित गर्ने, यात्राका क्रममा हुन सक्ने ठगी, बढी भाडा असुली तथा दुर्व्यवहार रोक्ने उद्देश्यले जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो ।
शारदा नगरपालिका–१ स्थित श्रीनगर बसपार्क नजिक, बनगाड कुपिण्डे नगरपालिका–१ को सल्लीबजार, बागचौर नगरपालिका–२ को थारमारे र कपुरकोट गाउँपालिका–३ को कपुरकोटमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
घर्तीका अनुसार सहायता कक्षमार्फत यात्रुहरूलाई सहज, सुरक्षित र भरपर्दो यात्रा गर्न आवश्यक सहजीकरण गरिनेछ । तोकिएको भाडादरभन्दा बढी भाडा असुली हुन नदिन, यात्राका क्रममा हुन सक्ने ठगी तथा दुर्व्यवहार रोक्न र यात्रुका गुनासा तथा समस्याको तत्काल सम्बोधन गर्न सहायता कक्षले सहयोग गर्ने उहाँले बताउनुभयो ।
चाडपर्वका समयमा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ्ने भएकाले सम्भावित दुर्घटना तथा यात्रुहरूले भोग्नुपर्ने समस्यालाई न्यूनीकरण गर्न प्रहरी सक्रिय रहेको जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्