गाउँघरबाट हराउँदै दसैँको रौनक बढाउने पिङ संस्कृति

बाँके । कुनै समय दशैँ नजिकिएसँगै गाउँघरमा छुट्टै रौनक छाउँथ्यो। घरघरमा सरसफाइ, नयाँ लुगाफाटोको तयारी र चहलपहलसँगै गाउँका चौतारा, खेतका गराहरू तथा खुला ठाउँमा बाँसको लिङ्गो गाडेर बाबियोको डोरीले पिङ हालिन्थ्यो। गाउँमा पिङ लागेपछि दशैँ भित्रिएको अनुभूति हुने गर्दथ्यो।
पिङ खेल्नु केवल मनोरञ्जनको माध्यम थिएन, यो आफन्त र छिमेकीबीच आत्मीयता साटासाट गर्ने, लामो समयपछि भेट भएका साथीभाइसँग रमाइलो गर्ने र पुस्तौँदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिने अवसर समेत थियो। दशैँ–तिहारको आगमनसँगै गाउँघरमा पिङ हाल्ने र खेल्ने चलन नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानका रूपमा स्थापित थियो। तर, पछिल्ला वर्षमा गाउँघरमा पिङ हाल्ने र खेल्ने परम्परा बिस्तारै हराउँदै जान थालेको छ। पहिले दसैँको उमङ्ग बढाउने पिङ अहिले धेरै ठाउँमा देखिन छाडेका छन्।
पहिले गाउँमा पिङ हाल्ने तयारी दशैँ आउनुअघि नै सुरु हुन्थ्यो। बाँसको बलियो लिङ्गो गाड्ने, बाबियोको डोरी बाट्ने र पिङ खेल्न मिल्ने गरी सुरक्षित व्यवस्था गर्ने काममा गाउँलेहरू सामूहिक रूपमा जुट्थे। पिङ निर्माणमा बालबालिकादेखि युवासम्मको सक्रियता रहन्थ्यो। पिङ हालिसकेपछि गाउँका सबै उमेर समूहका मानिस भेला भएर पालैपालो खेल्ने गर्थे। दसैँको बिदामा घर फर्किएका परदेशी आफन्त तथा इष्टमित्रका लागि पनि पिङ खेल्नु गाउँको पुरानो सम्झना र चाडपर्वको रमाइलो अनुभवसँग जोडिएको हुन्थ्यो। तर, केही वर्षअघिसम्म गाउँघरको जमघटको प्रमुख माध्यम बनेको पिङ संस्कृति अहिले सुस्ताउँदै गएको छ।

आधुनिक डिजिटल प्रविधिको बढ्दो प्रयोग, बदलिँदो जीवनशैली र विदेशी संस्कृतिप्रतिको आकर्षणका कारण गाउँघरको मौलिक पिङ संस्कृति ओझेलमा पर्दै गएको स्थानीयको भनाइ छ। दशैँ–तिहारसँग विशेष रूपमा जोडिएको पिङलाई लिङ्गे पिङ, काठे पिङ र रोटे पिङजस्ता विभिन्न स्वरूपमा चिनिन्छ। यस्ता परम्परागत खेलले मनोरञ्जन प्रदान गर्नुका साथै सामूहिकता, सहकार्य र सामाजिक सद्भाव अभिवृद्धि गर्न पनि भूमिका खेल्दै आएका थिए।
नयाँ पुस्तामा विदेशी संस्कृति र आधुनिक जीवनशैलीको प्रभाव बढ्दै जाँदा परम्परागत पिङको आकर्षण घट्दै गएको कोहलपुरकी युवा अभियन्ता अञ्जना शर्माले बताउनुभयो। उहाँका अनुसार चाडपर्व मनाउने शैलीमा आएको परिवर्तनसँगै पुराना संस्कार र परम्परालाई निरन्तरता दिने अभ्यास पनि कमजोर हुँदै गएको छ। गाउँघरको मौलिकता बोकेको पिङ संस्कृतिलाई जोगाउन पुरानो पुस्ताले नयाँ पुस्तालाई यसको महत्त्व बुझाउनुपर्ने उहाँको धारणा छ।
त्यस्तै, मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालको बढ्दो प्रयोगले पनि पिङ खेल्ने चलनमा प्रभाव पारेको स्थानीय अगुवा अर्जुन भण्डारी बताउनुहुन्छ। फेसबुक, भाइबर, एक्स (ट्विटर) र इमोजस्ता सामाजिक सञ्जालमार्फत देश–विदेशमा रहेका आफन्तजनसँग सजिलै सम्पर्क गर्न र चाडपर्वका शुभकामना आदानप्रदान गर्न सकिने भएपछि प्रत्यक्ष भेटघाट र सामूहिक जमघटको अभ्यास घट्दै गएको उहाँको भनाइ छ। पहिले पिङ खेल्ने ठाउँमा घण्टौँ बिताउने बालबालिका र युवाहरू अहिले मोबाइल तथा सामाजिक सञ्जालमा बढी समय बिताउन थालेका छन्।
यद्यपि, पिङ संस्कृति हराउँदै जानुमा डिजिटल प्रविधि मात्रै कारण नभई गाउँघरको बदलिँदो सामाजिक संरचना, रोजगारीका लागि युवाहरूको विदेश तथा सहर पलायन, सामूहिक रूपमा पिङ निर्माण गर्ने परम्परामा आएको कमी र सुरक्षित पिङ निर्माणका लागि आवश्यक सामग्री तथा स्थानको अभावजस्ता पक्षले पनि भूमिका खेलेको देखिन्छ। पहिले गाउँमा सामूहिक रूपमा गरिने काम अहिले व्यक्तिगत व्यस्तता र बदलिँदो जीवनशैलीका कारण कम हुँदै गएका छन्। यसले चाडपर्वमा हुने सामूहिक भेटघाट र आपसी आत्मीयतामा समेत प्रभाव पारिरहेको छ।
प्रविधिको विकास आफैँमा नराम्रो नभए पनि त्यसको प्रयोगसँगै मौलिक संस्कार र संस्कृतिलाई बिर्सन नहुने सरोकारवालाको भनाइ छ। नयाँ पुस्ताले आधुनिक प्रविधिसँगै आफ्ना मौलिक परम्परा, सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानको महत्त्व बुझ्न आवश्यक छ। पिङ खेल्ने परम्परा केवल विगतको सम्झना मात्र नभई परिवार, आफन्त र समुदायलाई एकै ठाउँमा जोड्ने सांस्कृतिक अभ्यास पनि हो।
गाउँघरमा पिङ हाल्ने परम्परालाई पुनर्जीवित गर्न स्थानीय तह, युवा क्लब, टोल विकास संस्था र समुदायले चाडपर्वको अवसरमा सामूहिक पहल गर्न सक्छन्। दशैँ–तिहारका बेला खुला तथा सुरक्षित स्थानमा परम्परागत पिङ निर्माण गर्ने, बालबालिका र युवालाई सहभागी गराउने तथा अग्रज पुस्ताबाट यससँग जोडिएका कथा, अनुभव र महत्त्वबारे जानकारी दिने गतिविधि सञ्चालन गर्न सकिन्छ। पिङ निर्माण गर्दा आवश्यक सुरक्षा मापदण्ड अपनाउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
पिङको संरक्षण गर्नु भनेको एउटा खेललाई निरन्तरता दिनु मात्र होइन, गाउँघरको सांस्कृतिक पहिचान, सामूहिक जीवनशैली र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परालाई जोगाउनु पनि हो। चाडपर्वको वास्तविक रौनक नयाँ लुगाफाटो र खानपानमा मात्र सीमित हुँदैन: आफन्तसँगको भेटघाट, छिमेकीबीचको सद्भाव र समुदायको सामूहिक खुसीमा पनि यसको विशेष महत्त्व हुन्छ।
त्यसैले, दसैँको आगमनसँगै गाउँघरमा पिङ हाल्ने पुरानो चलनलाई फेरि जीवन्त बनाउन सबै पक्षको पहल आवश्यक देखिन्छ। आधुनिकतासँगै मौलिक संस्कृतिको संरक्षण गर्न सके मात्रै नयाँ पुस्ताले पनि दशैँ–तिहारसँग जोडिएका पुराना सम्झना र परम्पराको महत्त्व बुझ्न पाउनेछन्। गाउँको चौतारोमा फेरि पिङ मच्चिन थाले र त्यससँगै हाँसो, भेटघाट तथा आत्मीयता फर्किन सके चाडपर्वको रौनक मात्र होइन, नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानसमेत जीवन्त रहनेछ।








प्रतिक्रिया राख्नुहोस्